संजय यादव, सिरहा
१२ असोज, २०७८
चोरी पैठारीमा सिरहाको गोलबजार नगरपालिकाको जेसीबी सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएका छन् । गोलबजार नगरपालिकाको ना.१.ग. ७०६ नम्बरको जेसीबी जोभा प्राकृतिक वनबाट ल्याएको सालको काठ र चालकसहित इलाका प्रहरी कार्यालय मिर्चैयाले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी राजेन्द्र श्रेष्ठले बताए । सोमबार राती करिब ९ बजे स्थानीयहरुले खबर गरेपछि जेसीबी, सालको काठ र चालक समेतलाई नियन्त्रणमा लिएको र थप कार्यवाहीको लागि डिभिजन वन कार्यालय लहान पठाउने तयारी भईरहेकोे डिएसपी श्रेष्ठले भने, ।
गोलबजार नगरपालिका वडा नं ९ को जोभा प्राकृतिक वनबाट सोमबार राति गोलबजार नगरपालिका को ना.१.ग. ७०६ नम्बरको जेसीबीमा सरकारी टाँका समेत लागिसकेको साल(सखुवा)को काठ लोड गरी लगिदैै गर्दा स्थानीयहरुले प्रहरीलाई खबर गरि मिर्चैया प्रहरीको जिम्मा लगाइएको स्थानीय सकलदेव सिंहले बताए ।
हावाहुरीले ढालेको साल(सखुवा) तथा अन्य गरी एक करोड रुपैयाँभन्दा बढी मूल्यको सखुवाको काठलाई घाटगद्दी गरेर राखेकोमा यसरी नै चोरी पैठारी हुँदै हाल १० लाख मूल्यको पनि काठ नरहेको स्थानीय लक्ष्मण यादवको कथन रहेको छ । उनले भने, गोलबजार नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रामपुकार कामतीको रोहवारमा बनमा छरिएर रहेको काठलाई एकीतृत गर्ने काम भइरहेको थियो र त्यहाँबाट राति करीब ९ बजे जेसीबी चालकले काम गरेर घर जाने बेलामा चोरेर सरकारी टाकाँ समेत लागिसकेको ३४÷७ सखुवाको शील जेसीबमा लोड गरेर चोरेर लैजाँदै गर्दा स्थानीय बासिन्दाहरुले समातेर ईलाका प्रहरी कार्यालय मिर्चैयालाई बुझाएको हो ।
यता जेसीबी चालक श्रवण कुमार साहले आफुलाई अध्यक्ष रामपुकार कामतीले लोड गरेर लैजान भनेको अनुसार नै लगिरहेको बताए । त्यस्तै गोलबजार नपा वडा नम्बर ९ का वडा अध्यक्ष रामपुकार कामतीले २ वर्षअघि नै वनमा हावाहुरीको समयमा खसेको काठ डिभिजन वन कार्यालयको रोहवरमा मेरो व्यक्तिगत डेढ लाखको लगानीमा छरिएर रहेको काठलाई घाटगद्दी लगाए पनि हाल अवस्थित भइसकेकोलाई व्यवस्थित गर्नको लागि नपालाई विशेष आग्रह गरी जेसीबीले व्यवस्थित हुने काम भइरहेको थियो । काम गरेर फर्किने बेला चालकले एउटा काठको सिल नै लोड गरेर गईरहेपछि स्थानियहरुले पक्रेको हो । चालकले कुन मनसायले लगिनखोजेको थाहा हुन नसकेको र यसरी काठ लै जानु गलत काम रहेको वडा अध्यक्ष कामतीले भने ।
गोलबजार नपाका नगरप्रमुख देवनाथ साहले वनमा छरिएर रहेको काठलाई व्यवस्थित गर्नको लागि वडाअध्यक्ष रामपुकार कामतीको आग्रहमा लगिएको जेसीबीको चालकले कुन नियतले काठ ल्याउन खोजेको आफूले बुझने काम भईरहेको बताए ।
त्यस्तै डिभिजन वन कार्यालय लाहनका प्रमुख वन अधिकृत डीएफओ सुभाषचन्द्र दाससंग यस सम्बन्धमा प्रतिकृया लिदाँ डिएफओ दासले भने, गोलबजार नगरपालिकाको जेसीबीमा काठ चोरी गरिरहेको अवस्थामा स्थानीयहरुले मिर्चैया प्रहरीलाई जिम्मा लगाएको आफूलाई जानकारीमा आएको बताए । तर अहिलेसम्म आधिकारिक पत्र नआएको र काठ जसरी लगेपनि चोरी नै भएको उनले भने । वन ऐन अनुसार कार्यबाही अगाडि बढाउने डिएफओ दासले बताए ।
यता वडाअध्यक्ष रामपुकार कामतीले वन कार्यालयसंग मिलिभगत बनी सरकारी टाकाँ समेत लागिसकेको सखुवाको गोलिया चोरी गर्न लगाएको स्थानीयहरूको आरोप रहेको छ । उनीहरुले कडा कानूनी कारबाहीको समेत माग गरिएको छ ।