काठमाडौं । चिनियाँ प्रविधि कम्पनी हुवावेकी प्रमुख वित्तीय अधिकारी (सीएफओ) मेङ वान्झोउ क्यानडामा नजरबन्दबाट रिहा भएकी छिन् । क्यानडामा पक्राउ परेको करिब तीन वर्षपछि उनी रिहा भएकी हुन् ।
सन् २०१८ मा अमेरिकाको आग्रहमा उनी क्यानडामा पक्राउ परेकी थिइन् । रिहा भएसँगै उनी चीन पुगेकी छिन् ।
चीन आएसँगै उनले आफ्नो मुद्दामा चासो दिएर सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेकी छिन् । मेङले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई पनि धन्यवाद दिँदै उनले सबै चिनियाँ नागरिकको लागि लड्ने बताएकी छिन् ।
किन नजरबन्दमा थिइन् मेङ ?
हुवावे कम्पनीकी सीएफओ वाङझोउ सीईओ रेन जेङफेईकी छोरी हुन् । जेङफेई चिनियाँ कम्युनिष्ट पार्टीका सदस्य पनि हुन् । उनले नौ वर्ष चीनको सेनामा पनि काम गरेका थिए । जेङ फेइले नै हुवावेको स्थापना गरेका हुन् । हुवावे विश्वको सबैभन्दा ठूलो दूरसञ्चार उपकरण निर्माता कम्पनी पनि हो ।
सन् २०१८ मा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले ठगीको मुद्दामा हुवावेकी सीएफओ वान्झोउलाई पक्राउ गर्न क्यानडालाई आग्रह गरेको थियो । अमेरिकाको आग्रहअनुसार क्यानडाको भान्कुभरबाट उनी पक्राउ परेकी थिइन् । वान्झोउमाथि अमेरिकाले प्रतिबन्धको उल्लंघन गर्दै हुवावेले इरानसँग कारोबार गरेको आरोप पनि लगाएको थियो । हुवावेले भने कुनै पनि नियम उल्लंघन नगरेको भन्दै बचाउ गर्दै आएको छ ।
त्यसयता उनको अमेरिका सुपुर्दगी गर्ने मुद्दा चल्दै आएको थियो । यो अवधिमा उनी क्यानडामा नै नजरबन्दमा थिइन् । तर, शुक्रबार अमेरिकाको न्याय मन्त्रालयले सुपुर्दगीको मुद्दा फिर्ता लिने निर्णय गरेको हो । यससँगै उनी क्यानडाबाट रिहा भएकी हुन् । शनिबार नै उनी चीन आइपुगेकी छिन् ।
राजनीतिक प्रतिशोध
मेङ वान्झोउ क्यानडाबाट रिहा भएको केही समयमा नै चीनले पनि दुई क्यानडेली नागरिक माइकल स्पाभोर र माइकल कोभरिङलाई पनि रिहा गरेको छ । क्यानडामा वान्झोउ पक्राउ परेको केही दिनपछि नै उनीहरु चीनमा पक्राउ परेका थिए ।
क्यानडाले उनीहरु पक्राउ परेको विषयलाई चीनले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाउँदै आएको थियो । चीनले भने उनीहरु जासुसीमा संलग्न रहेको बताउँदै आएको थियो ।
गत अगष्टमा चीनले स्पाभोरलाई ११ वर्षको जेल सजाय सुनाएको थियो भने कोभरिङको मुद्दामा अन्तिम फैसला आउन भने बाँकी थियो । यस्तोमा वान्झोउ छुटेसँगै चीनले दुवैजनालाई रिहा गरेको हो ।
चीनले वान्झोउलाई रिहा गराउन क्यानडाका दुई नागरिकलाई पक्राउ गरेर झुठो मुद्दा लगाएको आरोप पश्चिमा मुलुकले लगाउँदै आएका थिए । यस्तोमा वान्झोउ रिहा भएलगत्तै क्यानडेली नागरिक रिहा हुनुले पनि यो आरोपमा बल पुगेको छ । त्यसो त चीनले वान्झोउ नै राजनीतिक पूर्वाग्रहमा पक्राउ परेको आरोप लगाउँदै आएको थियो ।
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको चीनसँगको तनावपूर्ण सम्बन्धको कारण वान्झोउ पक्राउ परेको चीनको बुझाइ छ । ट्रम्पको पालामा अमेरिका–चीन सम्बन्ध इतिहासकै कमजोर अवस्थामा पुगेको थियो ।
अमेरिकाले चिनियाँ कम्पनीहरुलाई चरणबद्धरुपमा प्रतिबन्ध लगाउने वा कालोसूचीमा राखेको थियो । यसै सिलसिलामा उनले सन् २०१९ मा हुवावेलाई पनि कालोसूचीमा राख्दै अमेरिकी कम्पनीसँगको कारोबारमा रोक लगाएका थिए ।
एजेन्सीहरुको सहयोगमा