जनकपुरधाम । हत्याको आरोपमा धनुषाका एक वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । सडक विस्तारको क्रममा भएको विवादमा सबैला नगरपालिका ४ का स्थानीय सुमित्रा देवी यादवको कुटपिटबाट हत्या गरिएको घटनाको आरोपमा सोही वडाका वडाध्यक्ष ‘पथला’ भनिने कुशेश्वर ठाकुरलाई इलाका प्रहरी कार्यालय सबैलाले पक्राउ गरेको हो ।
ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको घटनामा १० जना आरोपितमध्ये वडाध्यक्षलाई पक्राउ गरिएको हो । गत वैशाख १३ गते सडक विस्तारको क्रममा सिमासाल खोजविनको क्रममा दुई पक्षबीच भएको विवादमा सुमित्रालाई कुटपिट गरी घाइते बनाइएको थियो । उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा उनको मृत्यु भएको थियो ।
सो घटनामा सुमित्रासहित स्थानीय रामचन्द्र बिराजी, रितिक यादव, दिपक यादव र रञ्जित यादव समेत गम्भीर घाइते भएका थिए । तर उपचारको क्रममा उनको मृत्यु भएपछि परिवारजनले वडाध्यक्षसहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङ्गमै कर्तव्य ज्यान उद्योगमा मुद्दा दर्ता गराएको थियो ।
मुद्दाको अनुसन्धानको क्रममा मोरङ प्रहरीले उक्त मुद्दा धनुषाको ईलाका प्रहरी कार्यालय सवैलालाई गत जेठ १६ गते पठाएको थियो । ईलाका प्रहरी कार्यालय सबैलामा मुद्दा आइसकेपछि फरार आरोपित मध्ये वडाध्यक्ष आफै हाजिर भएको ईलाका प्रहरी कार्यालय सवैलाका प्रमुख राजेश सिग्देलले जानकारी दिए ।
प्रहरी नियन्त्रणमा रहेका कुशेश्वरविरुद्ध सात दिने म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको सिग्देलले बताए । यता पक्राउ परेका वडाध्यक्ष ठाकुर आफू झगडामा सहभागी नरहेको तथा आफै सरकारी वकिलको सल्लाहमा प्रहरीमा हाजिर भएका प्रतिक्रिया दिएका छन् ।