काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास क्षेत्रीय कार्यालयले बुधबार प्रदेश २ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा हान्यो ।
’प्रदेश २ को ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा कम्पनी नखुलाई ११ करोडका १७ हजार साइकल किनेर करोडौं अनियमितता गरेको भन्दै उजुरी परेपछि अख्तियारको टोली सिधै मुख्यमन्त्री लालबाबु राउतको हेडक्वार्टरमा घुसेको थियो । तर राजनीतिज्ञको हेडक्वार्टरमा घुस्ने हिम्मत यतिकै भने आएको होइन ।
सामान्यतया अख्तियार हाइप्रोफाइल केशमा सिधै झम्टिँदैन । तर प्रदेश २ मा मुख्यमन्त्रीकै हेडक्वार्टर पसेर फाइल उठाएर लग्यो । यो कसरी सम्भव भयो भन्ने प्रश्न उठिरहेको छ । केन्द्रमा आफ्नै पार्टी सत्ता गठबन्धनमा रहेको र प्रदेशमा आफ्नै सरकार भएका बेला अख्तियारले छापा हानेपछि पार्टी नेता कार्यकर्ता तथा आम नागरिक नै आश्चर्यमा परे । धेरै केन्द्रकै सहमतिमा छापा हानेको लख काटे ।
वास्तवमा यसका पछाडि पार्टीको केन्द्रीय नेतृत्व उपेन्द्र यादवकै हात थियो । जसपा निकट उच्च स्रोतकाअनुसार उपेन्द्रलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको साथ थियो । उता प्रदेशमा छापा हान्ने कदमविरुद्ध जसपाले दुई दिन प्रदर्शन गर्ने निर्णय गरेको छ । तर उनीहरुलाई के थाहा छैन भने प्रचण्ड र उपेन्द्रको ग्रिन सिग्नलमा अख्तियार अघि बढेको हो ।
किन हानियो छापा ?
मुख्यमन्त्री राउतले भ्रष्टाचार गरेकै भए पनि अख्तियारले छापा हान्नुको कारण भने बेग्लै छ ।
उपेन्द्रनिकट जसपाका एक सांसदले प्रचण्ड र उपेन्द्र यादवको निर्देशनमा मुख्यमन्त्री कार्यालयमा अख्तियारले छापा हानेको बताए । यसको पछाडिको कारण भने दुइटा छन् । ती सांसदकाअनुसार पहिलो त मुख्यमन्त्री राउतले अध्यक्ष यादवलाई आर्थिक सहयोग बन्द गरेका छन् ।
राउतको सरकारमाथि पटक पटक पारदर्शिताका सवालमा प्रश्न उठे पनि संघबाट अध्यक्ष उपेन्द्र यादवले संरक्षण गर्दै आएका थिए । तर यसपालि गरेनन् । यसमा मुख्यमन्त्री राउतले तीन महिनादेखि यादवलाई व्यक्तिगत आर्थिक सहयोग नदिएको खुलेको छ । मन्त्री र मुख्यमन्त्री बनाए वापतको पैसा नआएपछि उपेन्द्रले एक्सन लिएको ती सांसदको दाबी छ ।
त्यसैगरी उपेन्द्र राउतसँग असन्तुष्ट हुनुको अर्को कारण हो पब्लिसिटी । मुख्यमन्त्री स्वच्छता अभियान, बेटी पढाउ बेटी बचाउ अभियानको नाममा उपेन्द्र यादवभन्दा बढी लोकप्रिय मुख्यमन्त्री राउत भइरहेका थिए । जुन कुरा उपेन्द्रलाई ठिक लागेको थिए ।
त्यसपछि प्रदेश २ का मन्त्री विजयकुमार यादव र सांसद डा सुरेन्द्र यादवलाई परिचालन गरेर अख्तियारलाई मुख्यमन्त्री कार्यालयमा छापा हान्न लगाइयो ।
यसमा उपेन्द्रको सिधा भूमिका रहेको उनी बताउँछन् । यसका लागि उपेन्द्रले प्रचण्डलाई पनि अनुरोध गरेको र प्रचण्डले नै व्यवस्थापन गरिदिएको ती सांसदको दाबी छ । नेपालपाना