काठमाडौं । दुई वर्षदेखि डिजेल मात्रै आयात भइरहेको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट पेट्रोलसमेत आयात गर्न नेपाल आयल निगम लिमिटेड र इन्डियन आयल कर्पोरेसन (आइओसी)ले ६ ठूला भण्डारण गृह (स्टोरेज ट्यांक) निर्माण गर्न लागेका छन् ।
करिब तीन अर्ब भारुमा आइओसीले नै बनाइदिएको पाइपलाइन २४ भदौ ०७६ बाट सञ्चालनमा आएको हो । सुरुको दिनबाटै डिजेल मात्रै आयात भइरहेको पाइपलाइनबाट वार्षिक १ अर्ब रुपैयाँभन्दा बढी ढुवानी खर्च बचत हुन थालेपछि आयल निगम र आइओसीले चाँडै पेट्रोलसमेत ल्याउन भण्डारण गृह निर्माणका लागि बोलपत्र आह्वान गरेका हुन् ।
पाइपबाट पेट्रोल आउन थालेपछि मासिक ११ करोड बचत हुने
आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायका अनुसार अहिले पेट्रोल लिन आइओसीको बरौनी रिफाइनरीमा अमलेखगन्ज, वीरगन्ज, जनकपुर, पोखरा, थानकोट, र विराटनगर डिपोबाट ट्यांकरहरू जाने गरेका छन् । ‘दैनिक औसतमा पोखराबाट ३५ ट्यांकर, अमलेखगन्जबाट ८० ट्यांकर, थानकोटबाट एक सय ७० ट्यांकर, पोखराबाट २५ ट्यांकर पेट्रोल लिन बरौनी जान्छन्,’ प्रवक्ता उपाध्यायले भने, ‘पाइपबाट पेट्रोल ल्याउन थालेपछि बरौनीमा ट्यांकर जाने व्यवस्था विस्थापित हुनेछ । यसबाट ढुवानी भाडाबापत खर्च हुँदै आएको ठूलो रकम जोगिन्छ ।’निगमका अनुसार हाल मासिक २ हजार ट्यांकरले बरौनीबाट पेट्रोल ओसारिरहेका छन् । यी ट्यांकरलाई ढुवानी भाडाबापत करिब ९ करोड रुपैयाँ निगमले भुक्तानी दिँदै आएको छ । त्यस्तै, प्राविधिक नोक्सानी आदिबाट थप करिब २ करोड रुपैयाँको तेल चुहावट हुने गरेको छ । पाइपबाट तेल आउन थालेपछि शून्य ढुवानी खर्च तथा चुहावट नहुने कारण मासिक ११ करोड रुपैयाँसम्म बचत हुने निगमको भनाइ छ ।
नेपाल र भारतको सरकारीस्तरमा भएको सम्झौताअनुसार परियोजनाअन्तर्गत पाइपलाइनसँगै पेट्रोलको दुई ठूलो स्टोरेज ट्यांकसमेत निर्माण गर्ने उल्लेख थियो । त्यसमध्ये ४१ लाख लिटर (४१ सय किलोलिटर) क्षमताको एउटा स्टोरेज ट्यांक आइओसीले आफ्नै खर्चमा बनाइदिने र थप ४१ लाख लिटर क्षमताको अर्को स्टोरेज ट्यांक आइओसीले बनाउने तर त्यसको खर्च निगमले बेहोर्ने सर्त थियो । यही सर्तअनुसार स्टोरेज ट्यांक र अन्य संरचना बनाउन आइओसीले १ अर्ब २८ करोड ५ लाख भारु लागत मूल्यांकन गरी बोलपत्र आह्वान गरेको छ ।
आइओसीको बोलपत्र सूचनामा निगमको दुई नम्बर प्रादेशिक कार्यालयमा ४१ लाख लिटर क्षमताको एउटा स्टोरेज ट्यांक, प्रयोगशाला, स्टोरेज ट्यांकको तेल ट्यांकरमा हाल्ने २४ वटा लोडिङ सेड, नवीन प्रविधिमा आधारित उच्चस्तरीय फायर फाइटिङ सिस्टम जडान गर्ने उल्लेख छ । त्यस्तै, २ लाख ५० हजार लिटर क्षमताका दुईवटा ‘ट्रान्समिक्स स्टोरेज ट्यांक’समेत बनाउने उल्लेख छ ।
आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले पाइपलाइनबाट पेट्रोल ल्याउने तयारी तीव्र पारिएको र त्यसका लागि निगमकै खर्चमा पेट्रोलको ठूलो भर्टिकल ट्यांकसमेत बन्न लागेको बताए । ‘पाइपबाट पेट्रोल ल्याएर ढुवानी खर्चमा थप बचत गर्ने, चुहावट नियन्त्रण गर्ने र शुद्धताको ग्यारेन्टी गर्ने दिशामा हामी अघि बढेका छौँ,’ उनले भने, ‘यसका लागि अमलेखगन्जमा आइओसीले बनाइदिनेबाहेक हामीले आफ्नै खर्चमा ५० लाख लिटर क्षमताको पेट्रोलको र ५० लाख लिटरकै डिजेलको अर्को स्टोरेज ट्यांक बनाउन बोलपत्र आह्वान गरेका छौँ ।’
यसरी पाइपलाइनबाट पेट्रोल ल्याउन अमलेखगन्जमा तीनवटा पेट्रोलको स्टोरेज ट्यांक र एउटा डिजेलको स्टोरेज ट्यांक थपिन लागेको उनले जानकारी दिए ।
ट्रान्समिक्स ट्यांक पनि बन्दै
आइओसीले वीरगन्जबाट ३७ किलोमिटर पर मोतिहारीमा डिपो बनाउँदै छ । सो डिपो ६ महिनापछि सञ्चालनमा आउने बताइएको छ । मोतिहारी डिपो सञ्चालनमा आएपछि निगमले त्यहीँबाट पाइपलाइनका माध्यमबाट पेट्रोल, डिजेल र मटितेल ल्याउनेछ । आइओसीको मोतिहारी डिपो ६ महिनापछि सञ्चालनमा आउने भए पनि निगमको अमलेखगन्ज डिपोमा पूर्वाधार तयार गर्न केही समय लाग्ने भएकाले करिब डेढ वर्षपछि मात्रै पेट्रोल आयात हुनेछ । अहिले आइओसीको पटना रिफाइनरीबाट डिजेल छाडेर मोतिहारी हुँदै अमलेखगन्जसम्म आइरहेको छ ।
एउटै पाइपलाइनबाट डिजेल, पेट्रोल र मटितेल आउने भएपछि तीनवटै पेट्रोलियमलाई एक अर्कामा मिश्रण हुन नदिन आइओसीले ‘ट्रान्समिक्स ट्यांक’ बनाइदिने भएको छ । २ लाख ५० हजार लिटर क्षमताको दुईवटा ट्रान्समिक्स ट्यांक बनाउन आइओसीले बोलपत्र आह्वान गरेको हो । एउटै पाइपबाट २–३ दिन डिजेल पठाइन्छ । त्यसपछि पाइपमा बस्ने डिजेललाई ठेल्न मटितल पठाइन्छ । यसरी पाइपमा मिसिएको मटितेल र डिजेललाई ट्रान्समिक्स ट्यांकमा खन्याइन्छ । र, पाइपको अन्तिम बिन्दुबाट डिजेल सकिएर पाइप भरी मटितेल भरेपछि आइओसीको मोतिहारी डिपोबाट पाइपमा पेट्रोल छाडिन्छ ।
यसरी पाइपमा फेरि पेट्रोल र मटितेलको मिश्रण हुन्छ । यस्तो मिश्रणयुक्त तेललाई पनि ट्रान्समिक्स ट्यांकमा खन्याइन्छ र पाइप भरी पेट्रोल मात्रै भएपछि पेट्रोलको भर्टिकल ट्यांकमा पठाइनेछ । एउटै पाइपबाट तीन थरी पेट्रोलियम आउने भएपछि एकअर्कामा मिसावट हुन नदिन पेट्रोल–मटितेल र डिजेल–मटितेल राख्ने ट्रान्समिक्स ट्यांक बनाउन लागिएको हो । ट्रान्समिक्स ट्यांकमा मिसावट भएको तेल भने ‘डिस्टिंसन’ गरी छुट्याएर अलग अलग स्टोरेज ट्यांकमा पठाइन्छ ।