सिमकोट । हुम्ला सीमा अतिक्रमण भएको तथ्य बाहिर आएपछि छिमेकी चीनले असहयोगको नीति लिएको छ । सीमा क्षेत्रका बासिन्दासँग बदला लिने हिसाबले चीनले नाकामा कडाई गर्दै नेपालीलाई दुख दिएको छ । करिब ७ हजार हुम्लाबासीको रोजिरोटी खोसेको छ ।
यसबाट आजित भएर हुम्लीले चीनसँग जोडिएको हुम्लाको उत्तरी हिल्सा नाका सञ्चालनमा ल्याउन माग गरेका छन् । कोभिड-१९ को सङ्क्रमणले विगत दुई वषदेखि बन्द रहेको हिल्सा नाकालाई सहज बनाउन जिल्लाका होटेल व्यवसायी, उत्तरी नाम्खा गाउँपालिकाका स्थानीयवासीले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदै सीमा नाका सञ्चालन गर्न आग्रह गरेका हुन् । सो नाका बन्द भएपछि त्यस क्षेत्रका उद्योग व्यवसाय ठप्प रहेको भन्दै सीमानाका खोल्न माग गरेको होटेल व्यवसायीका अध्यक्ष मीमबहादुर लामाले जानकारी दिए ।
सीमानाका बन्द हुँदा यहाँका साना, मझौला, ठूला व्यवसाय आर्थिक सङ्कटमा परेको अध्यक्ष लामाले बताए । हिल्साबाट चीन आवतजावत गर्ने नाका वा सीमा खोल्नका लागि आवश्यक पहल गरिदिन जिल्ला प्रशासनमार्फत सरकारलाई आग्रह गरेको उनले बताए ।
नाकामा खोलिएका होटेल व्यवसाय ठप्प हुँदा उनीहरूको लगानी सङ्कटमा परेको छ । हिल्सा नाका सीमा क्षेत्र बन्द भएपछि हुम्लीको व्यापार ठप्प भएको छ । हिल्सा नाका बन्द हुँदा चीनको ताक्लाकोट गएर काम गरेर जीविकोपार्जन गर्दै आएका करिब सात हजार बढी हुम्लीको रोजगारी गुमेको छ ।
वैशाख महिनाको अन्तिमदेखि हिमपातले रोकिएको नाका खुलेर रोजगारीका लागि उत्तरी नाम्खा गाउँपालिकालगायत अन्य पालिकाका नागरिक ताक्ला पुग्थे । तर दुई वर्षयता चीनमा आत्मनिर्भर रहेको नाम्खा गाउँपालिकाका स्थानीय सीमा बन्द हुँदा बढी समस्यामा परेका हुन् ।
वैशाखदेखि मंसिर अन्तिमसम्म ताक्लाकोटमा काम गरेर नेपाल फिर्ता हुने गरे पनि विगत लामो समयदेखि बन्द हुँदा समस्या भएको नाम्खाका स्थानीय दावा तामाङले बताए । करिब आठ महिना चीनमा काम गरेर हुम्ला फिर्ता हुने गरे पनि सीमानाका कोरोनाका कारण बन्द हुँदा हुम्लीलाई घर खर्च चलाउनसमेत समस्या भएको उनले बताए ।
कोरोना देखाएर चीनले नाका खोल्न मानेको छैन । त्यसमाथि नाम्खा चीनले सीमा अतिक्रमण गरेको ठाउँ हो । उत्तरी नाम्खा चीनमा निर्भर छ । सिमकोट, खार्पुनाथ र सर्केगाड गाउँपालिकाका नागरिकसमेत ताक्लाकोट पुगेर राम्रो कमाई गर्थे । कोरोनाले सीमा बन्द भएपछि चीनले खुलाउन नचाहँदा थप समस्या बनाएको तामाङले सुनाए ।
हिल्सा नाका बन्द भएपछि व्यापार व्यवसाय ठप्प हुनुका साथै दशैँ र तिहार जस्ता ठूला चार्डपर्वमा सस्तो र सहज उपभोग्य वस्तु उपभोग गर्न नसकिएको स्थानीयको गुनासो छ । त्यस्तै दुई वर्षदेखि सीमा बन्द भएर चिनियाँ च्याङ्ग्रा नभित्रिदा हुम्लामा खसीको मूल्य आकाशिएको छ ।
सीमानाका हिल्सामा आवतजावत पूर्णरुपमा बन्द भएपछि दशैँमा खसीको मूल्य आकाशिएको हो । सात गाउँपालिका रहेको हुम्लामा यो वर्षको दशैँ महँगो हुने भएको छ । चीनसँगको हिल्सा नाका नखुलेपछि चिनियाँ च्याङ्ग्रा नआउँदा हुम्लीले स्थानीय गाउँघरमा भएका खसी किन्नु पर्दा महँगो मूल्य तिरेर खरिद गर्नुपरेको छ ।
विगत वर्षमा प्रत्येक वर्षको दशैँमा चिनियाँ च्याङ्ग्रा आउने भएका कारण सस्तोमा दशैँ मनाउने हुम्लीको यस वर्षाको दशैँ महँगो हुने भएको हो । चीनबाट आएका च्याङ्ग्राको मूल्य दुई वर्ष अगाडि हुम्लामा एउटको १० हजारसम्म पर्ने गरेको भए पनि स्थानीय खसी खरीद गर्दा ३० हजारसम्म पर्ने गरेको सिमकोट-२ का धनबहादुर भण्डारीले बताए ।
स्थानीय खसीको मूल्य बढी नै पर्ने गरेको भए पनि यो वर्ष अन्य विकल्प नहुँदा मूल्य बढेको व्यापारीले बताउने गरेका छन् । व्यापारीले चिनियाँ च्याङ्ग्रा नआउँदा दशैँका लागि भनेर बझाङ, बाजुराबाटसमेत खसी ल्याएर बिक्री गर्न थालेका छन् । हुम्लाको सदरमुकाम सिमकोटमा खसी मासुको प्रतिकिलो एक हजार मूल्यमा बिक्री हुने गरेको छ ।