संजय यादव, सिरहा
१ कार्तिक, २०७८
सामाजिक राजनीतिक अभियन्ता एवं वरिष्ठ पत्रकार रामरिझन यादवले गायक, लेखक तथा संगितकार स्व. गुरुशरण सदाको पत्नी शान्ति सदाले शोकलाई शक्तिमा बदलिदै अगाडि बढ्न र समाजलाई नमुना भएर देखाइदिन अनुरोध गरेका छन् । शान्ति सदाले आफ्नो खुट्टामा उभेर सामाजिक रुपान्तरणको लागि साहस देखाउने समय आईसकेको बताए । जसपा नेपालका नेता समेत रहेको रामरिझन यादवले गायक, लेखक तथा संगितकार स्व.गुरुशरण सदाको शब्द संगितमा रहेको अन्तिम रचना “वैंस छदा” गीतको म्युजिक भिडियो बिमोचन कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै अभियन्ता यादवले यस्तो बताए । उनले भन,े मैथिलीबासी भएर पनि आफ्नो मातृभाषामा गीत नगाएर नेपाली भाषामा यति राम्रो गीत गाउन सकेकोमा आश्चर्य लागेको छ । हामी पहिला मधेसी हुँ, त्यसपछि मात्र नेपाली हुँ । पूर्ण मधेसी भएपनि नेपाली बन्ने प्रयास गरिएको हो भने । गुरुशरणको बारेमा डकुमेन्ट्री र स्मृतीग्रन्थ प्रकाशन गर्नमा गोलबजार नगरपालिकाका मेयर देवनाथ साहलार्ई सहयोग गर्न आग्रह गरे । विधवा भएर पनि शान्ति सदाले समाजलाई नमुना भएर देखाईदिएको साहासको लागि धन्यवाद र “बैस छदा” म्युजिक भिडियोको शुभकामना पनि दिए ।
कार्यक्रममा गोलबजार नगरपालिकाका मेयर देवनाथ साहले सांगीतिक क्षेत्रमा लागेकी शान्ति सदाको संघर्षको यात्रामा हरेक तवरले साथ र सहयोग गर्ने प्रतिबद्धता जनाए । सामाजिक राजनीतिक अभियन्ता डा.जयनारायण यादवले प्रतिभाशाली व्यक्तित्व स्व. गुरुशरण सदाको सामाजिक रुपान्तरणमा रहेको योगदानको चर्चा गर्दै शान्ति सादालाई हरेक तवरबाट सहयोग गर्न तत्पर रहने बताए । समाजसेवी तथा गैसस महासंघ सिरहाको अध्यक्ष समेत रहेको गोविन्दराज बिष्टले स्व. गुरुशरण सदाको अनुपस्थितिमा शान्ति सदाले गर्दै आएको संघर्षलाई प्रशंसा गर्दै भने मूसहर समुदायबाट यतिसम्म संघर्ष गर्न सकेकोमा धन्यवाद दिँदै सफलताको साथ अगाडि बढ्न शुभकामना दिए । सबरी संकल्प समाज गोलबजारको आयोजनामा भएको बैस छदा म्युजिक भिडियोको निर्माता आदित्य ठकुरी, स्व. गुरुशरण सदा र वीरेन्द्र सिहको शब्दरचना रहेको संगीतमा संगम भण्डारी, लक्ष्मण चौलागाई, आदित्य ठकुरी प्रमिता राजघतांकनी, राज रोकैया, पूनम श्रेष्ठ लगायतको अभिनय रहेको छ । म्युजिक भिडियोको क्यामराम्यान रामकृष्ण चौलागाईं तथा ईडिटिंग अमृत पन्थीको रहेको छ । म्युजिक भिडियोमा रंजित कुशवाहा, देवशरण सदा, शिबशरण सदाको बिशेष सहयोग रहेको निर्माता ठकुरीले बताए ।स्व. गुरुशरण सदाको कोभिडको कारण २०७८ बैसाख ६ गते निधन भएको थियो ।