काठमाडौ । राजतन्त्र ढलेपछि आम नागरिकमा परिणत भएको पूर्वराजपरिवारप्रति अहिले पनि जनचासो उत्तिकै छ । राजपरिवारप्रतिको माया उत्तिकै छ । राजा फेरि फर्काउनुपर्ने मागहरु पनि उत्तिकै सुनिन्छन् ।
पछिल्लो समय युवा पुस्तामा चर्चा कमाइरहेकी पूर्वराजपरिवार सदस्य हुन् पूर्णिका शाह । पूर्वयुवराज पारस र युवराज्ञी हिमानीकी जेठी छोरी पूर्णिका अहिले अध्ययनका क्रममा थाइल्यान्डमा छिन् ।
इन्टरनेसनल बिजनेसमा स्नातक अध्ययनरत उनी सामाजिक सञ्जालमा आफ्नो तस्वीर र स्टाटसहरू अपडेट गरिरहन्छिन् । उनी अहिले २० बर्षकी भएकी छिन् । सानै उमेरमा उनले समाजसेवातर्फ आफूलाई केन्द्रीत गरेकी छिन् ।
उनले ३ जना बालबालिकाको अभिभावकत्व लिएको जानकारी गराएकी छिन् । उनले ती ३ जना बालबालिकालाई विद्यालय शिक्षासम्मको शैक्षिक खर्च ब्यहोर्ने जिम्मा लिएकी छन् ।
सर्लाहीमा रहेको सामाजिक संस्था होस्टे हैसेलाई आर्थिक सहयोग दिएर उनले तीन बालबालिकालाई विद्यालय शिक्षासम्म नै सहयोग गर्ने प्रतिवद्धता जनाएकी छिन् ।
उनले भिडियो सार्वजनिक गर्दै शिक्षाको क्षेत्रमा अत्यन्तै पछाडी रहेको सर्लाहीमा विद्यालय जान नपाएका बालबालिकाको शैक्षिक खर्च सहयोग गरेर साथ दिन विश्वभरीका मानिसहरुलाई अपिल समेत गरेकी छिन् ।
उनले युवा अवस्थामा नै यो सेवाको काम गर्न पाउँदा खुशी लागेको बताएकी छिन् । होस्ट हैसे नामको सामाजिक संस्था सन् १९९० मा दर्ता भएको हो । यसको संस्थापक अध्यक्ष सुलोचना श्रेष्ठ शाह हुन् ।
होस्ट हेसेको प्रयास प्रशंसा योग्य छ । स्वास्थ्य बीमा, भविष्य कोष सुविधाहरू, निशुल्क शिक्षा, मातृत्व बिदा सहितको अत्यन्तै लोकप्रिय कार्यक्रम यसले सञ्चालन गरिरहेको छ ।