बीरगन्ज । गत असोज २१ गते गाड्न लागिएको शंकास्पद मृत्यु भएकी भारतीय युवतीको झुन्दिएर मृत्यु भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारीका अनुसार काठमाडौँमा गरिएको पोस्टमार्टमका अनुसार गाड्न लागिएको युवतीको झुण्डीएर मृत्यु भएको हो ।
प्रहरीले असोज २१ गते बीरगन्ज महानगरपालिका वडा नं. १३ मुर्लीस्थित कब्रस्तान (मुल्सिमहरुको शव गाड्ने स्थल) बाट युवतीको शव गाडी रहेको अवस्थामा नियन्त्रणमा लिएको थियो । शंक्सास्पद तरिकाले मृत्यु भएको सूचनाको आधारमा प्रहरीले शव कब्रस्थानबाट गाड्न लागिएको अवस्थामा भारत बिहारको पश्चिम चम्पारण इनर्वा थाना खमिया बस्ने १८ वर्षकी युवती जयनुत खातुनको नियन्त्रणमा लिएको थियो ।
प्रहरीले पाएको प्रारम्भिक सूचनाका अनुसार युवतीसँग गरिएको बलात्कार पश्चात अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको थियो । मृत्यु पश्चात शवको पोस्टमार्टम नगरी केही व्यक्तिहरुको उपस्थितिमा मात्रै युवतीको शव गाडी रहेको बेला प्रहरीले कब्रस्थान पुगेर शवलाई नियन्त्रणमा लिएको थियो । मृतक युवती पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँका जेठा छोरा नासिर मियाँको साली हुन् । स्थानीयहरुका अनुसार नासिरले नै युवतीसँग जबर्जस्ती करणी गरेको कारण उनको मृत्यु भएको थियो ।
शवआई नियन्त्रणमा लिए पश्चात पोस्टमार्टमका लागि प्रहरीले शव काठमाडौँ पठाइएको थियो । काठमाडौँमा गरिएको पोस्टमार्टम रिपोर्टमा ती युवतीको मृत्यु झुन्डिएर भएको पर्साका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए । युवतीको झुन्डिएर मृत्यु भएको तथा शव गोप्य रूपमा बीरगन्ज महानगरपालिका वडा नं. १३ मुर्लीको कब्रस्तानमा गाड्न खोज्नेविरुद्ध प्रहरीले मुद्दासमेत दर्ता गरी कारबाही प्रक्रिया अघि बढाएको छ । प्रहरीले कब्रस्तानबाटै मृतक युवतीका बुवाआमासहित ९ जनालाई नियन्त्रणमा लिएको थियो ।
प्रमाण लुकाउन खोजेको भन्दै प्रहरीले वडाध्यक्षसहित ३ जनाविरुद्ध मुद्दा समेत दर्ता गरेको छ । प्रहरीले बीरगन्ज महानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष तुफान फारुक अन्सारी, अध्यक्ष मियाँको जेठो छोरा नासिर मियाँ र केटीको बुवा समसुद्दिन अन्सारीविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । प्रहरीले यसअघि नै केटीको बुवा समसुद्दिन हिरासतमा लिएर अनुसन्धान अगाडी बढाई सकेको छ ।
शव कब्रिस्तान लैजानुभन्दा अगाडि नासिरको घरमा राखिएको, मृतक युवतीका बुवालाई घटनाबारे जानकारी हुँदा पनि प्रहरीलाई खबर नगरेको र शव नियन्त्रणमा लिने बेला वडाध्यक्ष अन्सारीले अवरोध पु¥याएको आरोप प्रहरीले लगाएको छ ।