काठमाडौं । असोज महिनामा मात्रै करिब नौ सय वटा विद्युतीय सवारी आयात भएका छन् । भन्सार विभागको तथ्यांकअनुसार असोज महिनामा मात्रै तीन पाङ्ग्रे र चार पाङ्ग्रे गरी आठ सय ८८ वटा विद्युतीय सवारी नेपाल भित्रिएका हुन् ।
विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार असोज महिनामा मात्रै एकसय किलोवाट क्षमता भएका ४० वटा विद्युतीय कारण, जीप र भ्यानजस्ता सवारी आयात भएको थियो । यस्तै, १५० देखि २०० किलोवाट क्षमता भएका विद्युतीय सवारी दुई सय ६३ वटा आयात भएका थिए ।
असोज महिनामा मात्रै करिब एक अर्बको विद्युतीय सवारी आयात भएको विभागको तथ्यांक छ ।
असोजमा कुल ९५ करोड ३३ लाख बराबरको विद्युतीय सवारी आयात भएको थियो । नयाँ आर्थिक वर्षको सुरुवाती असोजमा सबैभन्दा बढी विद्युतीय सवारी आयात भएको हो ।
पछिल्लो तीन महिनामा कुल एक हजार चार सय ४२ वटा विद्युतीय सवारी आयात भएका छन् । तीन महिनामा कुल एक अर्ब ४३ करोड ३६ लाख बराबरको विद्युतीय सवारी आयात भएको विभागले जनाएको छ ।
तीन महिनामा एकसय किलोवाटसम्म क्षमता भएका एकसय ११ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् भने १५० देखि २०० किलोवाटसम्म क्षमता भएका तीन सय ३५ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् ।