राजविराज । सप्तरीको खडक नगरपालिका वडा नम्बर १० का उमेश प्रसाद साह दुई दशकभन्दा बढी समयदेखि शिक्षण पेशमा संलग्न थिए । सुगम तराईका साह विकट जिल्ला ताप्लेजुङ्को लिमफिंगस्थित सीमा माविमा अध्यापन गराइरहेका थिए । २०५७ सालदेखि नै अस्थायी दरबन्दीमा गणित बिषय पढाइरहेका थिए उनी ।
२०७४ सालमा सरकारले अस्थायी शिक्षकलाई व्यवस्थापन गर्ने योजना ल्यायो । परीक्षा दिएर स्थायी बन्न र स्वेच्छिक अवकाशको नीति ल्याउँदा साहले अवकाश नै रोजे । ‘त्यस बेला परिवारमा रोजगारी गर्ने म मात्रै थिएँ । अनि सबै बेरोजगार’ साह भन्छन्, ‘म त स्थायी हुन्थे । तर परिवारका सबै बेरोजगार नै रहन्थे । परिवारमा काम गर्ने योग्य व्यक्तिलाई पनि रोजगारी दिने सोंचेर स्वेच्छिक अवकाश रोजे ।’
ताप्लेजुंगबाट उनी घर फर्के २०७६ को बैशाखमा । केहि दिन गाउँ घुमे । यहाँको वस्तुस्थितिबारे पुनःताजगी भए । यसपछि उनी कृषि कर्ममा जुट्ने निधो गरे ।
कृषि कर्ममा लाग्न उनले जग्गाको खोजी गर्न थाले । चन्द्रा मावि बोदे बर्साइनको जग्गा उनले गाउँमै फेला पारे । विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिसँग उनले कुरा चलाए । कुरा मिल्यो विद्यालयको १५ कठ्ठा जग्गा १५ बर्षका लागि लिजमा लिए ।
जग्गा लिजमा लिएपछि रकमको जोहोमा जुटे उनी । ‘केहि आफूले बचत गरेको रकम थियो । अरु २५ लाख कृषि विकास बैंकबाट ऋण लिएर केरा खेती शुरु गरे’ उनी भन्छन् । कात्तिक, २०७६ देखि उनले ती जग्गामा केरा खेती शुरु गरेको बताउँछन् । शुरुमै ३० हजार केराको बोट रोपे उनले । ती काममा उनीसहित उनका घरपरिवारका व्यक्ति पनि सहयोगी भए ।
साहले रोपेका केराका बोटहरु फल्न लागेको थियो । रोपिएका प्रायः सबै बोटमा केराले घारीको रुप बनाइसकेको थियो । केहि बोटमा फलेका केरा त आगामी छठसम्म बजार पु¥याउने तयारी गरेका थिए साहले । ‘छठ पर्वमा केराको बिक्री राम्रो हुन्छ । कतिपय केराको घारी त्यस बेलासम्म तयार भइसक्ने र छठमा बेच्ने योजना थियो’ साह भन्छन्, ‘तर मनको लड्डू घ्यूसँग खान बाध्य भएँ ।’
उनी यसो भनिरहनुको कारण हो, १ कात्तिकमा भएको मुसलधारे बर्षा र हाबाहुरीले उनले लगाएको केराबाली नष्ट गर्नु । बर्षा र हाबाबुरीले उनले लगाएको अधिकांस केराको बोट लडाएको छ । फल्न शुरु गरिसकेको र कतिपय तयार हुन लागेको कुरा नष्ट भएपछि साहलाई पहिलो गाँसमै ढुँगा परेको छ ।
‘केरा खेती गर्दा राम्रो आम्दानी हुने विश्वास थियो । त्यहीं भएर यो खेती नै रोजेको थिएँ’ साह भन्छन्, ‘तर, पहिलो पटक गरेको खेती नै प्रकृतिले असफल बनाइदियो ।’
हाबाहुरी र बर्षाका कारण रु २५ लाख बराबरको केरा नष्ट भएको उनले बताए । ‘यो मेरो लागि धेरै ठूलो क्षति हो’ उनले भने, ‘गरिएको लगानी र मिहिनेत सबै बर्बाद भएछ ।’
यद्यपी उनी यसबाट हरेस नखाने बताएका छन् । ‘कृषि कर्ममै लागिसकेपछि हरेस खानु भनेको ठीक हुँदैन्’ उनी भन्छन्, ‘पुनः मिहिनेत गर्छु । शायद, अब त राम्रो हुन्छ होला ।’–यो समाचार आजको ग्रीन मधेश दैनिकमा प्रकाशित छ ।