काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले महान चाड तिहारको मुखमा ३ करोड नेपालीलाई खुसीको खबर दिएका छन् ।
यो निर्णय धनी भन्दा गरिब र विपन्नका लागि अझ महत्वपूर्ण छ । पैसा नभएर अन्धकारमा बस्न बाध्य वा सीमित मात्रामा उपभोग गर्न बाध्य नागरिकलाई ठूलो राहत दिने भएको छ ।
देउवा सरकारले गरेको निर्णय हो, विजुलीको महसुल घटाउने र २० युनिटसम्म उपभोग गर्नेलाई निशुल्क बिजुली दिने निर्णय । प्रधानमन्त्री देउवाको निर्देशन र नेपाल विद्युत प्राधिकरणको सिफारिसमा विद्युत् नियमन आयोगले यो निर्णय गरेको हो । यो निर्णय आउँदो महिनादेखि लागु हुनेछ । आयोगले घटाइएको नयाँ महशुल दर कायम गरेको छ । नयाँ महशुल दर आगामी मंसिरदेखिको विद्युत खपत र पुस महिनादेखिको बिलिङ्गमा लागू हुने गरी विद्युत उपभोक्ता महशुल दर निर्धारण गरिएको हो ।
प्राधिकरणको निर्यातबाहेक अन्य उपभोक्ताको हकमा औसतमा १.०४ प्रतिशतले महसुल घट्ने गरी आयोगले महशुल दर निर्धारण गरेको छ। विद्युत उपभोग बढाउन महशुलमा औसतमा २.८४ प्रतिशतले घटाएको छ । सिङ्गल फेजबाट मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने ५ एम्पियर, १५ एम्पियर र ३० एम्पियरका उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साबिकको महसुल दरमा २५ ले कटौती गरी क्रमश प्रति युनिट १००, १२५ र १५० कायम गरिएको छ ।
यसै गरी, सिङ्गल फेजबाट मासिक ४०० युनिटभन्दा बढी विद्युत खपत गर्ने ५ एम्पिएर, १५ एम्पियर, ३० एम्पियर र ६० एम्पिएरका उपभोक्ताको मासिक न्युनतम शुल्कको हकमा साबिकको महसुल दरमा २५ ले कटौती गरी क्रमशस् प्रति युनिट १५०, १७५, २०० र २५० कायम गरिएको छ । विपन्न नागरिकलाई लक्षित गरी ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताको हकमा इनर्जी शुल्क नलाग्ने र न्यूनतम शुल्कमात्र लाग्ने गरी निर्णय गरिएको छ ।
यसै री, सिङ्गल फेजबाट आपूर्ति लिई मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताको इनजी शुल्कको हकमा साबिकको दरमा प्रति युनिट ५० पैसा घटाई प्रति युनिट ९.५० कायम गरिएको छ । साथै, सिङ्गल फेजबाट आपूर्ति लिई मासिक ४०० युनिटभन्दा माथि विद्युत खपत गर्ने उपभोक्ताको इनर्जी शुल्कमा प्रति युनिट १ घटाई प्रति युनिट ११ कायम गरिएको छ ।
नयाँ विद्युतदर अनुसार विपन्न वर्ग अर्थात ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने उपभोक्तालाई ईनर्जी शुल्क लाग्ने छैन भने न्युनतम मासिक शुल्क ३० रुपैयाँ मात्रै तोकिएको छ । यो निर्णयले लाखौ विपन्त वर्ग लाभाम्वित हुने सरकारको विश्वास छ । देउवा सरकार आएपछि एक पछि अर्को जनमुखी काम गरिरहेको छ ।