एक समयकी सफल अभिनेत्री निरुता सिंहले करीब एक दशकपछि फिल्म ‘नाइँ नभन्नू ल ५’ बाट अभिनयमा पुनरागमन गरिन् । फिल्ममा उनी बाल कलाकार अनुभव रेग्मीको आमाको भूमिकामा थिइन् । फिल्ममा छोटो भूमिका भए पनि उनको अभिनय सशक्त थियो । यसपछि उनले महजोडीको फिल्म ‘दाल भात तरकारी’ मा अभिनेता पुष्प खड्काको आमा भएर अभिनय गरिन् । उनीभन्दा अगाडिका केही अभिनेत्रीहरु अझै पनि फिल्ममा आमाको भूमिकामा अभिनय गर्न तयार छैनन् । तर, निरुता भने आफ्नो उमेर सुहाउँदो भूमिकामा काम गर्न तयार हुने गरेकी छन् । उनी समय अनुसार कलाकारको भूमिका परिवर्तन हुने र त्यसलाई स्वीकार गर्न सक्नुपर्ने बताउँछिन् । आफूलाई रोल राम्रो लागे आमाको भूमिकामा अभिनय गर्न तयार रहेको उनको भनाई रहेको छ ।
‘मैले अहिलेदेखि होइन पहिलैदेखि फिल्ममा आमाको भूमिका निर्वाह गर्दै आएको छु । ‘दर्पण छायाँ’ भन्दा अगाडि ‘१६ वर्षे जोवन’ मा दीलिप रायमाझी मेरो छोरा हुनुहुन्थ्यो । फिल्म ‘खानदान’ मा सुशील क्षेत्री पनि मेरो छोरा हुनुहुन्थ्यो । त्यति मात्र होइन ‘धर्मपुत्र’ मा राजेश हमालको समेत म आमा बनेको छु । मलाई फिल्ममा आमाको भूमिकामा अभिनय गर्न आपत्ति छैन,’ उनले भनिन् ।
‘डान्स च्याम्यिपन’ को घोषणा सभामा उनले भनिन्, ‘समय अनुसार भूमिका परिवर्तन हुँदै जान्छ र त्यसलाई स्वीकार गर्न सक्नुपर्छ । अहिले आएर मैले कलेज पढ्ने युवतीको भूमिकामा अभिनय गर्छु भनेर भन्न मिल्दैन । रोल राम्रो लाग्यो भने आमाको भूमिकामा अभिनय गर्न तयार छु ।’ करिअरको उत्कर्षमा रहँदा पनि आफूले आमाको भूमिकामा अभिनय गरेको उनी सम्झन्छिन् ।