काठमाडौं । अहिले नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाको गठबन्धन सरकार छ । प्रधानमन्त्री शेरबहादुर देउवा छन् । प्रचण्ड, माधव र उपेन्द्रहरुले पटक पटक बिन्ती गरेपछि कांग्रेस सभापति देउवा बाध्यात्मक रुपमा प्रधानमन्त्री बन्न तयार भएका हुन् ।
उतिबेला आफै प्रधानमन्त्री बनाउन जोड गर्ने प्रचण्ड र उपेन्द्रहरुले अहिले भने देउवाविरुद्ध घेराबन्दी गर्न थालेका छन् । देउवालाई आफूहरुले प्रधानमन्त्री बनाएको भन्दै जथाभावी बोल्दै हिँडेका छन् । प्रचण्डले जता जता गयो त्यतै त्यतै म यो गरिदिन्छु, उ गरिदिन्छु भनेर हिँडिरहेका छन् ।
यसैक्रममा उपेन्द्र यादव पनि प्रधानमन्त्री देउवा र सरकारविरुद्ध घेराबन्दीमा उत्रिएका छन् । आफू उपप्रधानमन्त्री बन्न नपाएको रिस उपेन्द्रले कांग्रेसमाथि पोखिरहेका छन् । त्यसमाथि आफूले भनेजस्तो मनपरी सरकारमा गर्न नपाएपछि उपेन्द्र आक्रोशित छन् ।
एकातिर कांग्रेसको नेतृत्वमा सत्ता गठबन्धन गर्ने र अर्कोतिर कांग्रेसकै खोइरो खनेर उपेन्द्रले दोकलापन देखाएका छन् । उनले कांग्रेस नेतृत्वको सरकारसँग सहकार्य गर्नै कठिन रहेको भन्दै गठबन्धन छाड्ने संकेत गरेका छन् ।
पार्टीको भातृसंगठन गैरभौगलिक विशेष प्रदेश समितिको कार्यक्रमलाई सम्बोधन गर्दै यादवले बहुदल आएपछिका सबै विकृति फैलाउने काम कांग्रेसले गरेको आरोप लगाए । सरकार गठन भएको तीन महिनापछिमात्र आफ्नो पार्टी सरकारमा सहभागी भएको भन्दै यादवले तीन महिनाभित्र कांग्रेसले थाहा नै नदिइ आफूनिकट व्यक्तिमात्र भर्ती गरेको आरोप लगाएका छन् ।
उपेन्द्र आरोपमा उत्रेपछि कांग्रेसका नेताहरुले असन्तुष्टि जनाएका छन् । आफै सरकारमा रहने अनि आफै गठबन्धनको नेतृत्व दलको खोइरो खन्ने भन्दै दोहोरो चरित्र नदेखाउन चेतावनी दिएका छन् ।