काठमाडौँ । तालिबानले नियन्त्रणमा लिएको अफगानिस्तानबाट हालसम्म ९४० जनाको उद्धार भएको छ । शनिबार ३२ नेपाली काठमाडौँ पुगेसँगै ९४० जनाको उद्धार भएको हो । बाँकी त्यहाँ रहेका नेपाली सुरक्षीत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घीय नियोग तथा कार्यालयमा अतिआवश्यक कार्यमा संलग्न केही नेपालीहरु मात्र रहेका तथा उनीहरूमा सुरक्षा जोखिम नरहेको बताउँदै मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “राष्ट्रसङ्घीय निकायले अतिआवश्यक मानवीय तथा विकाससम्बन्धी कार्य जारी रहने जनाउँदै राष्ट्रसङ्घमा कार्यरत नेपालीलाई कुनै सुरक्षामा जोखिम भए सबैलाई सुरक्षितरूपमा नेपाल फीर्तिको प्रबन्ध मिलाइने जानकारी दिएका छन् ।”
उद्धार भई आज फर्केकाहरू वैदेशिक रोजगारीको स्वीकृति नलिई अफगानिस्तान पुगेका, राजधानी काबुलका विभिन्न भागमा स–सानो समूहमा छरिएर रहेका तथा उनीहरूलाई एउटै समूहमा आवद्ध गरी आवास र भोजनको सुविधासहित सुरक्षितरूपमा राख्ने प्रबन्ध नेपाल सरकारको अनुरोधमा आइडिजी कम्पनीमार्फत गरिएको थियो ।