कम्युनिस्ट एकताका लागि चिनियाँ सहजीकरण
यस वर्ष (२०७८) सालको दशैंमा पनि एमाले र माओवादी केन्द्रबीच हुने भनिएको एकताको चर्चा बहसको सतहमा आएको छ । यो चर्चालाई सहतमा ल्याइदिएकी हुन् नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ।
‘चीनमा कम्युनिस्ट पार्टी १०० वर्ष पुगेको अवसरमा नेपाल डाइलग फोरमले पुस्तक प्रकाशन गरेको रहेछ । पुस्तक विमोचनको क्रममा चीनको विकास र समृद्धिको चर्चा भएको थियो । नेपालमा पनि विकास समृद्धिको लागि माओवादी केन्द्र र एमाले मिल्दा राम्रो हुने चर्चा राजदूतले गरेका रहेछन् ।
नेपालका कम्युनिस्ट पार्टीबीच एकताका लागि चिनियाँ चासो प्रकट भएको यो पहिलो सन्दर्भ भने होइन । एमाले र माओवादी एकीकरणबाट छुट्टिएपछि चिनियाँ पक्षले सार्वजनिक रूपमा एकताको लागि सल्लाह दिएको भने यो पहिलो हो तर २ पार्टी मिलेर नेकपा रहेको बेला पार्टी भित्रको विवाद मिलाउन र विभाजन टार्नको लागि चिनियाँ पक्षले भरपुर मद्धत गरेको थियो ।
तत्कालीन नेकपा भित्रको आन्तरिक विवाद मिलाउन चिनियाँ राजदूत यान्छीले नेताहरूको घरदैलो चहारेकी थिइन् । त्यति मात्रै होइन, उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत भेटेर एमाले र माओवादी केन्द्र बीचको एकता कायम गराउन प्रयास गरेकी थिइन् ।
२०७७ वैशाखयता नेकपाभित्र आन्तरिक द्वन्द्व चरम उत्कर्षमा पुगेको थियो । त्यसबेला नेकपा भित्रको विवाद समाधानको सहजीकरण चिनियाँ राजदूत यान्छीले गरेकी थिइन् । चिनियाँ पक्षले नेपालमा कम्युनिस्ट शक्ति बलियो र एकताबद्ध रहोस् भन्ने चाहँदै आएको छ । एमाले र माओवादीबीचको एकीकरणमा पनि चिनियाँ भूमिका रहेको चर्चा हुँदै आएको थियो । २०७७ वैशाख र असारमा राजदूत यान्छीले देखाएको सक्रियताले त्यो चर्चालाई पुष्टि गर्दथ्यो ।
राजदूत यान्छीले कहिले कुन नेताको घर चहारे ?
२०७७ वैशाख १५ गते राजदूत यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी, वैशाख १८ गते प्रधानमन्त्री केपी ओलीलाई छुट्टाछुट्टै भेटेर पार्टी भित्रको विवाद समाधानमा सहजीकरण गरेकी थिइन् । वैशाख १९ गते प्रचण्ड र नेता माधवकुमार नेपाललाई यान्छीले उनीहरूको निवासमै गएर भेटेकी थिइन् । उनको त्यो सक्रियतापछि नेकपा भित्रको विवाद केही मत्थर भएको थियो तर असारमा फेरि विवाद उछालियो । त्यसबेला पनि यान्छीले नै सहजीकरण गरेकी थिइन् । त्यसबेला यान्छीले असार १९ गते राष्ट्रपति विद्यादेवी भण्डारी, असार २१ गते नेता माधव नेपाल र असार २३ गते वरिष्ठ नेता झलनाथ खनाललाई भेटेर विवाद समाधानमा सहजीकरण गरेकी थिइन् ।
यान्छीको सक्रियताले नेकपा भित्रको विवाद साम्य भयो तर समाधान हुन सकेन । भित्रभित्रै भुसको आगो जस्तो बनेको विवाद २०७७ पुस ५ गते संसद विघटनको रूपमा विस्फोट भयो । नेताहरू प्रचण्ड र माधव नेपाल लगायतले पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट केपी ओलीको राजीनामा मागेपछि ओलीले प्रत्युत्तरमा संसद विघटन गरिदिएका थिए ।
संसद विघटनपछि नेताहरूबीच देखिने गरी कित्ताकाट भयो । संसद विघटनको पक्ष र विपक्षमा उनीहरू उभिए । पार्टीभित्र एकले अर्काेलाई कारबाहीको शृंखला चलायो । नेकपा भित्रको विवाद थप उत्कर्षमा पुगेपछि नेकपाका नेताहरूको मन बुझ्नका लागि चिनियाँ उपमन्त्री नेतृत्वको टोली काठमाडौं ओर्र्लिएको थियो ।
२०७७ पुस १२ गते काठमाडौं उत्रिएको चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको ४ सदस्यीय टोलीले नेकपाका नेताहरूलाई छुट्टाछुट्टै भेटेर पार्टी विवाद समाधान गर्न दबाब दिएको थियो ।
सम्भव छ त एमाले–माओवादी एकता ?
यतिबेला एमाले र माओवादी केन्द्रको अवस्था आगो र पानीको जस्तो छ । एकले अर्काको अस्तित्व स्वीकार्नै नसक्ने अवस्थामा उनीहरू छन् । सार्वजनिक मञ्चमा दुवै पार्टीका नेताले एकअर्कालाई खुइल्याएर भाषण गरिरहेका छन् ।
अहिले २ पार्टीको मुख्य विवाद संसद विघटनका कारण उत्पन्न परिस्थितिले निम्त्याएको छ । त्यसले देशको राजनीतिलाई नै २ ध्रुवमा बाँडिदिएको छ । एउटा कित्तामा संसद विघटन गरेर आएका र त्यसलाई समर्थन गर्ने पक्ष छ भने अर्काेमा संसद विघटनलाई प्रतिगामी भनेर बनेको गठबन्धन छ । संसद विघटन विरोधी कित्ता प्रभावशाली छ ।
अहिले माओवादी केन्द्र संघीय सरकारमा प्रभावशाली मन्त्रालय र प्रदेशमा ३ वटा प्रदेशको मुख्यमन्त्रीसहित सत्तामा छ । एमाले केन्द्र र २ प्रदेशबाहेक सबैतिर सत्ता नेतृत्व गुमाएर प्रतिपक्षमा छ ।
चिनियाँ राजदूत होउ यान्छीले २ पार्टी मिल्न सुझाव दिएको भए पनि अहिलेको परिस्थितिमा त्यो भने सान्दर्भिक नभएको नेताहरुले दाबी गर्दै आएका छन् ।
शुभेच्छुकले देशको विकास र समृद्धिको लागि पार्टीहरू मिलेर अघि बढून् भन्ने चाहना राख्नु स्वाभाविक हो तर वर्तमान परिस्थिति त्यस अनुकूलको नहेको नेताहरुको भनाईले बेलाबेला प्रष्ट पारिरहेको छ । संसद विघटन गर्ने र त्यो बेठीक हो भन्नेहरू फरक कित्तामा उभिएका छन् ।
अहिले नै भविष्यको आकलन गर्न नसकिने तर शुभेच्छुकहरूले राखेको सदिच्छालाई धन्यवाद भन्न सकिन्छ ।
राजनितीक विज्ञहरुका अनुसार एमाले–माओवादी मिल्छन् र फेरि छुट्टिन्छन् भन्ने आकलन कसैले गरेको थिएन र फेरि भविष्यमा के हुन्छ भन्ने अहिल्यै आकलन गर्न सकिँदैन ।
तर चिनियाँ पक्षले निरन्तर रूपमा नेपालमा कम्युनिस्ट एकताको लागि पहल र पैरवी गर्दै आएको कसैबाट लुकेको छैन् ।
के हो २ पार्टी मिलनको पृष्ठभुमि ?
२०७४ सालमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संसदीय चुनावमा तालमेल गर्ने र एउटै पार्टी बनाउने खबर सार्वजनिक गरेका थिए । २ ठूला कम्युनिस्ट पार्टीहरू एक हुने खबर सार्वजनिक हुँदा नेपालको राजनीति निकै तरङ्गीत भएको थियो ।
त्यतिबेला पनि कांग्रेस र माओवादी केन्द्रको गठबन्धनको सरकार थियो । पहिलो ९ महिना माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गरी पहिलो चरणको स्थानीय तहको निर्वाचन सकेर सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवालाई सुम्पेको कुरा कहिँकत्तैबाट लुकेको छैन् ।
गठबन्धन सरकारको नेतृत्व देउवालाई जिम्मा लगाएपछि केही फुर्सदिला भएका प्रचण्ड र प्रतिपक्षमा रहेको एमालेका अध्यक्ष केपी ओलीले आफ्ना सहयोगी नेतामार्फत संवाद अघि बढाएका थिए ।
एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलको सम्भावनाको आकलन समेत नभएको बेला २ पार्टीले एकताको खबर सार्वजनिक गरेको थियो ।
२०७४ असोज १७ गतेबाट मोर्चा बनाएर चुनावमा सहभागी भएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते पार्टी एकीकरण भएको थियो । जुन २०७७ फागुन २३ गतेसम्म कायम रह्यो ।
दुवै पार्टी एकीकरणबाट बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा २ अध्यक्ष रहेका केपी शर्मा ओली र प्रचण्डबीच कुरा मिल्न छाडेको थियो । त्यहीबेला नामको विवादको विषयमा सर्वाेच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको पार्टीले रोजेको नाम पहिल्यै अर्काे पार्टीले लिएकाले नेकपा नाम दिन नसकिने फैसला गरेपछि २ पार्टी पूर्ववत अवस्थामा फर्किएका थिए ।
त्यसमा पनि २०७७ पुस ५ गते पार्टीको आन्तरिक किचलोलाई लिएर तत्कालीन प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नै २ पार्टीको अलग यात्रा तय भइसकेको थियो । त्यसलाई फागुन २३ गते सर्वाेच्च अदालतको फैसलाले अन्तिम किनारा लगाइदियो ।