संखुवासभा । संखुवासभामा प्रवेश गरेका चिनियाँ नागरिकको समूहले अपराधको ताण्डव मच्चाउन थालेको छ । रुद्राक्षको कारोवार गर्ने भनेर संखुवासभाको तुम्लिङटार विमानस्थल हुँदै जिल्ला छिरेका ३३ चिनियाँ नागरिकले शंकास्पद गतिविधि गर्न थालेका हुन् ।
यसैक्रममा आइतबार दुई जना अपराध गर्दागर्दै रंगेहात पक्राउ परेका छन् । प्रहरीले खाँदबारी-९ तुम्लिङटारको बुद्ध होटलबाट अवैध औषधिसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिचुवान प्रान्त घर भई हाल खाँदबारी–९ तुम्लिङटार बस्ने सान्दोङ र यू छिनग्लिन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए ।
विशेष सुराकीको आधारमा प्रहरीले सिचुवान प्रान्तका सान्दोङ र यू छिनग्लिनलाई पक्राउ गरेको हो । आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय र विमानस्थल सुरक्षा गार्ड तुम्लिङटार प्रहरी चौकीबाट खटिएको संयुक्त प्रहरी टोलीले बुद्ध होटलमा लुकाइ राखेको अवस्थामा राजश्व छली गरेर ल्याएको पिबीओजी औषधिसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको प्रहरी निरीक्षक अधिकारीले बताए ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ । प्रहरीले बुद्ध होटलको कोठा नम्बर ५०२ बाट आठ सय किलोग्राम पिबिओजी औषधि बरामद गरेको हो । चिनियाँ नागरिकबाट बरामद भएको पिबिओजी औषधि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको छ ।