काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी अहिले लुम्बिनी भ्रमणमा छिन् । उनी लुम्बिनी क्षेत्रमा रहँदा उत्तरी छिमेकी चीनले लुम्बिनीकै गौरव गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कब्जा गरेको छ ।
विगतमा राज्यहरुबीच युद्ध लडेर आफ्नो झण्डा फहराएर कब्जा गरेजस्तै चीनले आफ्नो झण्डा विमानस्थलमा फहराएर कब्जा गर्न खोजेको छ । झण्डा हेर्दा यो कुनै चीनको भू–भागजस्तो देखिन्छ । तर, यो नेपालको भूभागमा बनेको अन्तर्राष्ट्रिय विमानस्थल हो जहाँ चिनियाँ झण्डा टर्मिनलमै फहराइएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मीनल भवनमा चिनियाँ झण्डा राखिएको पाइएको हो । ६ अर्ब रुपैयाँ लागत रहेको चिनियाँ ठेकेदार कम्पनीले निर्माण गरेको उक्त विमानस्थलमा चिनियाँ झण्डा राखिएको पाइएको हो।
टर्मिनलमै चिनियाँ झण्डा राखेर चीनले नेपालमा आफ्नो प्रभुत्व प्रदर्शन गर्न थालेको छ । चिनियाँ झण्डा नेपालको विमानस्थलको टर्मिनलमा राखेपछि विरोध हुन थालेको छ । तर, सरकारले भने यस विषयमा कुनै धारणा सार्वजनिक गरेको छैन ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार साढे दुई अर्ब रुपैयाँको मूर्ति स्थापना गरिएको छ । बुद्धको उक्त मूर्ति बहुमूल्य धातु ह्वाइट जेडबाट बनाइएको हो । म्यानमारमा बनाइएको मूर्ति स्पेनको लुम्बिनी गार्डेन फाउन्डेसनले विमानस्थललाई निःशुल्क उपलब्ध गराएको हो ।
उक्त मूर्तिलाई विमानस्थलको प्रवेशद्वार र बाहिरिने मार्गमा पर्ने गरी राखिएको छ । उक्त मूर्ति स्थापना गर्नुअघि नै विमानस्थलको टर्मिनल भवनको छतमा चिनियाँ झण्डा फहराइएको पाइएको छ । नेपालपाना