काठमाडौं । काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल, खरेलथोककी मैना सुनार आठ दाजुभाइकी एक्ली चेली थिइन् । उनलाई १४ वर्षको उमेरमा तत्कालीन शाही नेपाली सेनाले सुतिरहेकै ठाउँबाट उठाएर लगेको थियो ।
उनको गैरन्यायिक हत्या भएपछि परिवारले न्याय नपाएसम्म दाहसंस्कार नगर्ने अडान राख्दै आएका छन् । उनको शव शिक्षण अस्पतालको शवगृहमा १८ बर्षदेखि राखिएको छ ।
बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा मैनाकी आमा देवी सुनारले तिहारको बेला छोरीको यादले झनै पिरोल्ने भावुक अभिव्यक्ति दिएकी थिइन् ।
आफ्ना र देवरहरूको समेत गरी घरमा आठ छोरा भए पनि छोरी नभएकाले पनि तिहारजस्ता चाडमा असाध्यै पीडा हुने उनले सुनाइन् । तथापि संक्रमणकालीन न्यायसम्बन्धी प्रावधानको कार्यान्वयन वा अनुभूति भएपछि मात्रै आफ्नी छोरीको दाहसंस्कार गर्ने अडान उनले दोहोर्याइन् ।
यो सन्दर्भलाई आजको गोरखापत्र दैनिकले पृष्ठ २ मा कभरेज गरेको छ ।