पर्सा । छिमेकी भारतको बिहार राज्यसँग जोडिएको पर्सा र बारा सीमानाकामा नेपाली नम्बरको सवारीसाधन भारत प्रवेशमा बन्द गरिएको छ । भारतका उपराष्ट्रपति वेङ्कैया नायडू बिहार मोतिहारीको पिपराकोठीमा आएकाले वीरगञ्ज रक्सौल नाकासहित पर्साका छोटी नाकाहरू आइतबार बिहानदेखि निजी सवारीसाधन प्रवेशमा रोक लगाइएको हो ।
भारतको मोतिहारीसँग नजिक रहेको सीमा क्षेत्रमा सुरक्षा कडा पारिएको छ । आइतबार बिहानदेखि पैदल यात्रुहरूलाई भने रक्सौल आउजाउ गर्न दिइएको तर गाडीहरूको आवागमन भने पूर्णरूपमा रोकिएको छ । भारतसँग जोडिएको पर्साको विभिन्न गाउँका सीमा नाकामा भारतीय प्रहरी थप कडाइ गरेको छ । खुला सीमाको कारण ग्रामीण क्षेत्रबाट नेपाली नम्बरको सवारीसाधन भारत प्रवेशमा बन्द गरिएको छ ।
सिमावर्ती भारतीय शहरमा भारतीय उपराष्ट्रपतिको भ्रमण भएकाले सुरक्षाको ख्याल राख्दै आइतबार बिहानदेखि भोलिसम्मका लागि निजी सवारीसाधनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।