ऐजेन्सी । पाकिस्तानले पछिल्लो वर्ष चीनबाट लिएको साढे चार अर्ब अमेरिकी डलर (३० अर्ब युयान) ऋणको ब्याज मात्रै २६ अर्ब रुपैयाँ तिरेको छ । स्टेट बैंक अफ पाकिस्तानले यो तथ्यांक सार्वजनिक गरेको हो । पाकिस्तानले चीनबाट ऋण थपेर साउदी अरेबियाबाट ल्याएको ऋण तिरेको हो ।
पाकिस्तानमा विपक्षी दलहरूले सरकारी असफलताका रूपमा व्याख्या गर्दै चीनसँग सरकारले यति ठूलो रकम ब्याज तिर्नुपरेको टिप्पणी गरेका छन् । सन् २०२०–०२१ को ऋणबापतकाे ब्याज मात्रै २६ अर्ब १ करोड रुपैयाँ रहेको पाकिस्तानी स्टेट बैंकको तथ्यांक छ ।
चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गत पाकिस्तानले ऋण लिएको छ । पाकिस्तानमा चीन पाकिस्तान इकोनोमिक कोरिडोर (सिपेक) बिआरआईअन्तर्गत चिनियाँ ऋणबाट निर्माण कार्य भइरहेको छ । बिआरआईअन्तर्गत चीनले विभिन्न मुलुकलाई तीन अर्ब ८५ अर्ब अमेरिकी डलर ऋण प्रवाह गरिसकेको छ । कतिपय मुलुकहरू ऋणको चर्को ब्याजमा परेर परियोजना नै चीनलाई हस्तान्तरण गर्ने अवस्थामा पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
चीनले अन्तर्राष्ट्रिय वित्त बजारमा आफ्नो प्रभुत्व कायम गर्न सहायता नभएर ऋण प्रवाह गरिरहेको आरोप छ । चीनले भने साझा भविष्य निर्माणका लागि मुलुकहरूसँग अर्थपूर्ण सहकार्य गरिरहेको र ऋण पनि साझा भविष्य निर्माणको एउटा पक्ष रहेको बताउँदै आएको छ ।