नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई पठाएको गोप्य पत्र सार्वजनिक गर्न माग गरेका छन् ।
पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता रावलले भने, ‘यो सत्ताका निम्ति खतरानाक सौदाबाजी हो । सार्वभौम संसद् र जनताको अपमान हो । विदेशीको नांगो चाकडी हो । प्रधानमन्त्रीले जलवायु सम्मेलनजस्तो महत्त्वपूर्ण मञ्चमा जाँदा एमसीसीका कार्यकारी अध्यक्षसँग लम्पसार परेका छन्, घुँडा टेकेका छन् ।”
- डा. रावलले देउवा र प्रचण्डले छुट्टाछुट्टै हो कि संयुक्त रुपमा पत्र पठाएको भन्ने प्रश्न गर्दै यो राष्ट्रघाती र गैरजिम्मेवार पत्र भएको आरोप लगाए । उनले भने, “प्रचण्ड हाम्रो मुलुकको जलस्रोत मन्त्री हुन् कि परराष्ट्र मन्त्री हुन् ? संयुक्त रुपमा पत्राचार गरेको हो भने यो राज्यको उपहास हो । यो ज्यादै लज्जाजनक छ ।
संवैधानिक, कूटनीतिक र राज्य सञ्चालनका मर्यादा विरोधी कुरा हो । के प्रचण्डको राजनीति एमसीसीको फल खाएर केही थान मन्त्री र प्रधानमन्त्री खाने मात्रै हो ?” एकीकृत समाजवादीका नेता माधवकुमार नेपालले एमसीसी पारित गर्न चाहेको हो भने त्यो जनतालाई मूर्ख बनाउने कुरा भएको बताए ।
उनले भने, “माधव नेपालकै पार्टीका नेता झलनाथ खनाल नेकपाको विदेश विभाग प्रमुख हुँदा एमसीसी अध्ययन कार्यदल बनेको थियो । त्यसले एमसीसी यथास्थितिमा पारित गर्नुहुँदैन भन्ने प्रतिवेदन दिएको थियो । अब झलनाथजीले कसरी मान्नुहोला ?”