गुलरिया । बर्दियाको ठाकुरबाबा नगरपालिकामा गौ संरक्षण अभियानअन्तर्गत पञ्चगब्य (गोमूत्र) अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गरिने भएको छ। विश्व हिन्दू युवा संघका धार्मिक सद्भावना दूत योगी पिताम्वरको नेतृत्वमा पञ्चगब्य अनुसन्धान केन्द्र सञ्चालन गर्न लागिएको हो।
ठाकुरद्वारास्थित ठाकुरबाबा मन्दिरमा मंसिर ४ गते रक्षामन्त्री डाक्टर मिनेन्द्र रिजालले केन्द्रको शिलान्यास गर्ने कार्यक्रम रहेको विश्व हिन्दू युवा संघका अध्यक्ष ऋषिकेश जंग शाहले पत्रकार सम्मेलनमार्फत् जानकारी गराएका छन्। नेपालका गब्यसिद्ध डाक्टर नरेन्द्र हमाल, प्रेम आर्य र बाबा योगिराजको सैद्धान्तिक नेतृत्वमा पञ्चगब्य अनुसन्धान केन्द्र सञ्चालन हुन्छ।
केन्द्रले गौ संरक्षणमा ठूलो योगदान पुर्याउँदै स्थानीयको आयआर्जनमा टेवा पुर्याउने लक्ष्य लिएको अध्यक्ष शाहको भनाइ छ। ठाकुरबाबामा आयोजित धार्मिक सभामा आउने पाहुनाहरुलाई स्थानीयले आफ्ना घरमा खाना तथा बासको लागि सहयोग गर्न आयोजक संस्थाले अनुरोध गरेको छ।
गौ संरक्षण अभियानसँगै दलित समुदायप्रतिको विभेद् अन्त्य गर्न ठाकुरबाबा मन्दिरमा धार्मिक अनुष्ठान गरिने जानकारी दिइएको छ।