काठमाडौँ । सर्वोच्च अदालत भोलिबाट नियमित प्रक्रियामा अघि बढ्ने भएसँगै प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्ने समुह कमजोर भएको देखिएको छ ।
बारको आन्दोलन र न्यायाधीशहरुको इजलास बहिष्कारले दुई सातादेखि सुनुवाई प्रभावित हुँदै आएकोमा आज ६ न्यायाधीशहरु इजलासमा फर्किएर मुद्दाको सुनुवाई गरेसँगै नेपाल बारको आन्दोलन पनि कमजोर भएको देखिएको हो।
बारले आज पनि सर्वोच्च अदालत परिसरमा धर्ना गरे पनि न्यायाधीशहरु तेजबहादुर केसी, कुमार रेग्मी, प्रकाश ढुंगाना, कुमार चुडाल, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा इजलास फर्किएपछि बार पक्ष असफल हुने देखिएको छ ।
आज न्यायाधीशद्धय श्रेष्ठ र शर्माको इजलासले चारवटा मुद्दाको सुनुवाइ गरेर आदेश दिएको छ । त्यस्तै, तेजबहादुर केसी र कुमार चुडालको संयुक्त इजलासले पनि मुद्दा सुनुवाइ गरेको छ ।
प्रकाश ढुंगाना र कुमार चुडालको इजलासले भने एउटा बन्दीप्रत्यक्षीकरणको मुद्दामा आदेश जारी गरेको छ । प्रधानन्यायाधीश जबराको राजीनामा नआएसम्म बहसरपैरवीमा नजाने र आन्दोलन जारी राख्ने भन्दै आएको बारमा पनि वकिलहरु विभाजित छन् । बारकै पूर्व अध्यक्ष शेरबहादुर केसी आन्दोलनमा सहभागी छैनन् ।