काठमाडौं । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पमकल दाहालले योगगुरु रामदेव वैज्ञानिक र क्रान्तिकारी भएको बताएका छन्।
काठमाडौंको मण्डीखाटारमा शुक्रबार पतञ्जली योगपीठको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले रामदेव क्रान्तिकारी भएकाले नै आफ्नो निकटता बढेको बताए। उनीसँग सामिप्यता बढेसँगै क्रान्तिकारी भएको थाहा पाएको दाहालको भनाइ थियो।
“कताकता पहिला त लाग्थ्यो, उहाँ अलि बढी रुढीवादी हुनुहुन्छ होला। अलि बढी परम्परावादी हुनुुहुन्छ होला,” दाहालले रामदेवको प्रशंसा गर्दै भने, “तर, छलफल गर्दै जाँदा उहाँ त वैज्ञानिक हुनुहुदोरहेछ, क्रान्तिकारी हुनुहुदोरहेछ। त्यसकारण मेरो निकटता पनि त्यसरी नै बढेर गयो।”
योगगुरु रामदेवले योगबाट नै नयाँ क्रान्तिको मार्ग तय गरेको उनको भनाइ थियो। “उहाँले योगलाई एउटा नयाँ क्रान्तिमार्ग प्रस्तुत गर्नुभयो। योगको माध्यमबाट आरोग्यतिर, निरोगितातिर पूरै समाजलाई लैजाने अभियानको नेतृत्व गर्नुभयो,” दाहालले भने।
पतञ्जली योगपीठले विभिन्न सामानको उत्पादन गरेर महान अभियान थालेको उनको भनाइ थियो। “आरोग्यबाट एउटा उद्योगतिर, उद्योग सञ्चालन गरेर उत्पादन वृद्धिको महान अभियान पनि सञ्चालन गर्नुभयो,” दाहालले भने।
अब भारतमा जस्तै नेपालमा पनि उद्योग स्थापना गर्नुपर्ने उनको भनाइ थियो। यसका लागि रामदेवसँग कुराकानी गरेको समेत अध्यक्ष दाहालले जिकिर गरे।