- हरिशंकर शर्मा,
वीरगन्ज (पर्सा) । पर्सा प्रहरीले जग्गा सम्बन्धी विवादमा ठगी गरेको आरोपमा पर्साका एक जना नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवं पकहामैनपुर गाउँपालिका–५ का वडाध्यक्षका प्रत्यासी रामबाबु चौरसिया रहेका छन् ।
जग्गा सम्बन्धी विवादमा उजुरी परेपछि पर्सा प्रहरीले गएराति चौरसियालाई पक्राउ गरेको हो । पक्राउ परेका चौरसियालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा एक दिन राखी पीडित पक्षलाई बोलार दुवै पक्षलाई सम्झाई बुझाई गरी छाडिएको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
उनका अनुसार ठगी सम्बन्धी उजुरीमा पक्ष र विपक्षी दुवैलाई राखेर मिलापत्र गर्नसक्ने प्रावधान रहेको हुँदा शुक्रबार जिल्ला प्रहरी कार्यालयमा दुवै पक्षबीच भएको छलफलमा सहमति भए पश्चात चौरसियालाई छाडिएको जानकारी दिए ।
चौरसिया स्थानीय तहको निर्वाचनमा नयाँ शक्ति पार्टीबाट पर्साको पकाहमैनपुर गाउँपालिका–५ का वडाअध्यक्ष पदका प्रत्यासी हुन्, भने हाल महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका नेता हुन् ।
आफूलाई समाजसेवी एवं राजनीतिकर्ता भन्ने चौरसिया विगत लामो समयदेखि जग्गाको कारोबार गर्दै आएका छन् । सोही जग्गा कारोबारको सिलसिलामा उनीमाथि ठगीको आरोप लागेको हो ।