Thursday, December 2, 2021
spot_img
Homeदेशकाठमाडौंमा थारु समुदायले मनाए समाचकेवा पर्व

काठमाडौंमा थारु समुदायले मनाए समाचकेवा पर्व

शेयर गर्नु होस

काठमाडौं । काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका आदिवासी थारु समुदायले समाचकेवा पर्व मनाएका छन् ।

शनिबार थारु महिला सभाले आयोजना गरेको समाचकेवा पर्वमा थारु समुदाय भेला भएर हर्षोल्लासपूर्वक यो पर्व मनाए । थारु समुदायका दिदी–बहिनीहरुले दाजु भाइको दीर्घायूको कामना गर्दै मनाइने यो पर्व २०६८ सालदेखि काठमाडौंमा मनाउने गरिएको थारु महिला सभाकी अध्यक्ष निलम चौधरीले बताइन् ।

‘ हामी थारु समुदायले संघीय राजधानी काठमाडौंमा पनि आफ्नो संस्कार र संस्कृतिलाई कायम राख्न यो पर्व मनाएका हौं । तर सरकारले हाम्रो यो पर्वलाई कुनै मान्‍यता दिएको छै न। यो तराइको संस्कृतिमाथिको अपमान हो ।’

उनले अहिले सरकारले दसैं, तिहार र छठ पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिएको तर समाचकेवा तराईका थारु लगायत अन्य समुदायले मनाए पनि सरकारले बेवास्ता परेको गुनासो गरिन् । उनले भनिन्, ‘सरकारले दसैं, तिहार, छठमा विदा दिए पनि थारुको संस्कृतिलाई वास्तै गरेन । खाली सभा समारोहमा ड्रेस देखाउनको लागि मात्र प्रयोग गरिरह्‍यो ।’

थारु समुदायसँगै तराइमा अन्‍य समुदायहरुले समाचकेवा थारुहरुसँगै सिकेर मनाउँदै आएका छन् । उनले भनिन्, ‘समाचकेवा थारुको रगतसँगको सम्बन्ध छ । यो इतिहासमा थारु राजाहरुको कहानी समेटिएको छ । समा राजाकी छोरी थिइन् । बुवाको आदेशलाई पालना गर्न घरबाट वनबास जानु पर्‍यो । आफ्नै मौलिक परम्परा गीत र संगीत छ । त्‍यसकारण यसको महत्व थारु समाजमा धेरै छ।’

कार्यक्रममा थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले समाचकेवा थारुको मौलिक गीति चाड भएकाले यसलाई जोगाउनुपर्ने बताए । उनले भने, ‘समाचकेवा थारुको मौलिक गीति र जीवन्त संस्कृति हो । यसलाई जोगाउनु नै आजको आवश्यकता छ ।’ मौलिक संस्कृतिलाई संरक्षण गर्नुपर्ने उनको भनाइ छ ।

यस्तै थारु संस्कृतिविद् भुलाई चौधरीले समाचकेवा भाइ-बहिनीप्रतिको माया, प्रेम, सद्भाव र जिम्मेवारी तथा समाजमा भएका भएका विभिन्न व्यक्तिहरुको चरित्र चित्रण गरेको बताए ।

उनले समाचकेवामा कुरौटे (चुगला) को उदाहरण दिँदै भने, ‘समाचकेवामा कुरा लगाउने, अरुप्रति चुक्ली लगाउने, छलछाम गर्ने चुगला नामक पात्र हुन्छ जसको प्रत्येक दिन समा खेल्दा जुँगा डढाउने गर्छन् दिदीबहिनीहरु । हाम्रो समाजमा पनि यस्ता पात्रहरु भेटिन्छन् । जसलाई सोही अनुसार दण्ड सजाय हुन्छ ।’ परिवार र समाजमा कुरा लगाउनेप्रति सधैं सचेत हुने सन्देश समाचकेवाले दिएको उनले बताए ।

बाँसको नाङ्लोमा काँचो माटोबाट विभन्‍न आकारका मूर्तिहरु बनाइएका छन् जसमा समाचकेवा, चुगला, बिरदाबनी, मौहौतिया/मालिन, कुत्ता, नाह खैबैया, तितिर (समाको साथी), नटुवा, न्‍याक्दी भलाजी, ढोलकिया/झाइल बजिया र भमरा राखेर समाचकेवा खेल्ने गरिन्छ ।

तमुबौद्धमा समाचकेवा खेलिसकेपछि थारु महिला सभाले धोबीखोला किनारमा समाचकेवा (जल बिसर्जन) सेलाएका छन् । त्यसअघि आपसमा छोरीहरु बैहैनपा (मितनी), छोराहरुले बगैरिया/भाइजी/गोदिया (मित) लगाएका छन् ।

यसले थारु समुदायमा समाचकेवाको जस्तै मितिनी वा मीतको मर्यादा कायम रहन्छ भन्‍ने किंवदन्ती छ । त्यसअघि मिल्‍ने छोरीहरु बैहैनपा (मितनी), छोराहरुले बगैरिया/भाइजी/गोदिया (मित) लगाउने थारु समाजमा अहिले पनि चलन छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -
Google search engine

Most Popular

Recent Comments

%d bloggers like this: