सर्लाहीमा कांग्रेसको वडा अधिवेशनमा गोली चल्यो

सर्लाही । नेपाली कांग्रेसको वडा अधिवेशनको क्रममा गोली चलेको छ । सर्लाहीको बलरामा अधिवेशनको क्रममा विवाद हुँदा गोली चलेको हो ।

प्रदेश २ का महिला, बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहका अंगरक्षकले गोली चलाएका हुन् । विवादका कारण बलराको २ वटा वडाको अधिवेशन रोकिएको छ ।

बलरा नगरपालिका वडा नंं ९ अचलगढमा वडा अधिवेशनको छलफलको क्रममा मन्त्री सिंह पुगेका थिए । उनले वडामा असन्तुष्टि जनाएपछि दुई पक्षबीच विवाद चुलिएको थियो । जारी विवादकै क्रममा मन्त्रीका अंगरक्षकले हवाई फायर खोलेका थिए ।

सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले मन्त्रीको पिएसओबाट हवाई फायर भएको बताए । अहिले अवस्था सामान्य रहेको उनले जानकारी दिए ।