आर्थिक वृद्धिको अवसर सिर्जना गर्ने भारतको अनुभव

काठमाडौं । मोबाइल इन्टरनेटको तीव्र विस्तारले रोजगार, मूल्य सिर्जना र आर्थिक वृद्धिको अवसर सिर्जना गर्ने भारतको अनुभवले देखाउँछ ।

विगत पाँच वर्षभित्र भारतको डिजिटल सञ्जाल र सेवा पहुँचमा भएको अस्वाभाविक तीव्र विस्तारले आर्थिक वृद्धिको समावेशीपनमा सकारात्मक प्रभाव देखिन थालेको छ । खुद्रा बजार, आपूर्ति चेन, वित्त उत्पादकत्व लाभान्वित भएको छ । उद्यमी गतिविधिमा विस्तार भएको छ । भारतमा सन् १९८० को दशकको अन्ततिरै डिजिटल प्रविधि भित्रिएको थियो । तत्कालीन प्रधानमन्त्री राजीव गान्धी ९१९८४–८९०को शासनमा कम्प्युटर विज्ञान र शिक्षामा उल्लेख्य लगानी भयो । सन् १९९० को दशकमा इन्टरनेटको विस्तारसँगै भारतमा ग्राहक सेवा, आइटी प्रशासनमा प्रमुख आउटसोर्सिङ कम्पनीको विकास भयो । तर, मोबाइल इन्टरनेटको विस्तारमा आवश्यक पूर्वाधार नहुँदा भारतीयहरू विश्वमै महँगो मोबाइल डाटा प्रयोग गर्न बाध्य थिए ।

सन् २०१० मा भारतका अधिकांश मोबाइल सेवा टुजी र थ्रिजीमै कायम रहँदा एक सानो टेलिकम कम्पनी आइबिएसएलले लिलामीमा फोरजी फ्रिक्वेन्सी ब्यान्डको स्पेक्ट्रम खरिद गर्‍यो । पछि आइबिएसएललाई अर्बपति मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिजले किन्यो । त्यसपछिका पाँच वर्षमा रिलायन्स इन्डस्ट्रिजले नयाँ व्यावसायिक शाखा ‘रिलायन्स जियो’को विस्तारमा ठूलो धनराशि लगायो । यस अवधिमा कम्पनीले ब्रोडब्यान्ड पहुँचलाई सघाउने र राष्ट्रिय मोबाइल इन्टरनेट प्रणाली चल्ने अप्टिकल फाइबरको पूर्वाधार बनायो । रिलायन्स जियोले सन् २०१६ मा सेवा सुचारु गर्‍यो । कम्पनीको सस्तोमा इन्टरनेट सेवाले धेरै भारतीयलाई आकर्षित गर्‍यो । चार वर्षको छोटो अवधिमै जियो सब्स्क्राइबरको संख्या ४० करोड पुग्यो ।

जियोको प्रवेशअघि भारतमा प्रतिगिगाबाइट ९जिबी० मोबाइल डाटाको मूल्य ३।८० डलर थियो, जुन पछि ०।३० डलरमा झर्‍यो । अर्थात्, विश्वको सबैभन्दा महँगोमध्येको भारतको मोबाइल डाटा मूल्य जियोको आगमनपछि विश्वकै सस्तो बन्यो । तीव्र स्पिड र न्यून मूल्यको योगले भारतका विविध क्षेत्रमा इन्टरनेटको प्रयोग तीव्रताका साथ विस्तार भयो । अमेजन, नेटफ्लिक्सले भारतलक्षित सेवा दिन थाले । मोबाइल बजारमा प्रवेश गर्दा रिलायन्स जियोले तय गरेको न्यून डाटा मूल्य लामो समय नटिक्ने मानिएको थियो । तर, कम्पनीसँग रहेको अन्तरनिहित सञ्जाल पूर्वाधारको अधिक्षमताबाट उसले फाइदा लियो । अझ महत्वपूर्ण, उसले आफ्नो प्रारम्भिक वृद्धिलाई थप फाइदाजनक सेवा दिन उपयोग गर्‍यो, जसले उसले न्यून मूल्यको मोबाइल इन्टनेट सेवामा गरेको लगानीबाट धेरै फाइदा लिन सक्यो ।

सन् २०१९ मा रिलायन्स जियोको पूर्ण स्वामित्वमा रहेको शाखा ‘जियो प्लाटफर्म’ खोलियो, जसमा जियो स्मार्टफोन र डाटा सर्भिस योजनाका अतिरिक्त अन्य धेरै डिजिटल सेवा समावेश थिए । सन् २०२० को सुरुमा जियो प्लाटफर्मले विश्वका ठूला डिजिटल सेवाहरू फेसबुक, गुगल, इन्टेल, क्वालकोमहरूबाट २० अर्ब डलर उठायो । सुरुदेखि नै जियो प्लाटफम्र्सले डिजिटल सेवा क्षेत्रका एपहरूको लामो सूची तयार पार्‍यो । साथै, उसले उस्तै सेवा दिने कम्पनीका प्रमुख सेयर पनि किन्न थाल्यो । यो रणनीतिले भारतमा मोबाइल इन्टरनेटको तीव्र विस्तारलाई सघाएको छ ।

रिलायन्स जियोको सफलताले कैयन् स्टार्टअप र उद्यमीले फाइदा उठाउन सके । हालसम्म ३८ भारतीय स्टार्टअप कम्पनीको मूल्यांकन एक अर्ब डलर पुगेको छ । ती एप सामाजिक व्यवसाय, शिक्षा, वित्तीय सेवा, स्वास्थ्य सेवा आदिमा केन्द्रित छन् । भारतको डिजिटल वृद्धिलाई मेक्सिकोको वृद्धिसँग तुलना गर्न सकिन्छ । मेक्सिकोमा इन्टरनेट सेवा १६ वर्षपछि ७२ प्रतिशत जनतामाझ पुगेको थियो । भारतमा पाँच वर्षभित्र इन्टरनेट पहुँच १६।५ प्रतिशत जनताबाट ४१ प्रतिशत पुगेको छ, जियोको आगमनपछि । आगामी दिनमा डिजिटल भारतको कथाका नयाँ अध्याय लेखिँदै जानेछ । तर, निर्माण क्षेत्रको रोजगारीलाई स्वचालित मेसिन र कृत्रिम बौद्धिकताले विस्थापित गरिरहँदा भारतले विकास मोडेललाई कसरी बुझ्ने भन्ने विषयमा महत्वपूर्ण पाठ प्रदान गर्छ । इन्टरनेटमा आधारित डिजिटल प्रविधि आर्थिक तथा वित्तीय समावेशीकरणका लागि महत्वपूर्ण हुन्छ ।

भारतलगायत अन्य देशका अनुभवले तुलनात्मक उच्च गति र सस्तो मोबाइल इन्टरनेटले नयाँ आर्थिक पर्यावरण निर्माणमा महत्वपूर्ण हुने देखाउँछ । यस परिस्थितिमा नवप्रवर्तन, उद्यमी गतिविधि र ग्राहक सेवाले विस्तार हुने अवसर पाउँछ । करोडौँ भारतीयले यो सकारात्मक र गतिशील परिवर्तनको फाइदा उठाइरहेका छन् । अन्य देशका नीतिनिर्माताले पनि यसमाथि विचार पुर्‍याउनुपर्छ । यस अर्थमा मोबाइल इन्टरनेट पहिलेका पूर्वाधारमा गरिने लगानीभन्दा फरक देखिँदैन । हिजोका दिनमा चीन र अहिलेको भारतमा डिजिटल विस्तारले महत्वपूर्ण सहयोग गरेको छ । यसलाई विगतमा सोचिएभन्दा थप तीव्र र कम प्रतिव्यक्ति आयको स्तरमा सुरु गर्न सकिन्छ ।

© Project Syndicate 2021
नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्य

अर्थशास्त्रमा नोबेल पुरस्कार विजेता माइकल स्पेन्स  स्ट्यानफोर्ड विश्वविद्यालयका पूर्वडिन र अर्थशास्त्रका अवकाशप्राप्त प्राध्यापक हुन् ।  नयाँपत्रीका