काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा गृहमन्त्री बालकृष्ण खाणले शेरबहादुर देउवाको नेतृत्वमा पार्टीले गति लिएको स्पष्ट पारेका छन् ।
वर्तमान सभापति देउवाले १४औं महाधिवेशनमा सभापतिमा नै उम्मेदवारी दिने पनि उनले स्पष्ट पारे । देउवा सभापति भएपछि पार्टीमा कहिल्यै पनि शक्तिको दुरुपयोग नगरेको बरु सबैलाई मिलाएर नै लैजान खोजेको पनि खाणले स्मरण गराए ।
पत्रकार ऋषि धमलासँग कुरा गर्दै गृहमन्त्री खाडले भने, ‘उहाँले कहिल्यैपनि बहुमतको दुरुपयोग गर्नुभएको छैन् । नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी हो । यसमा केही मतभेदहरु हुनसक्छन् तथापि त्यो अस्तित्वलाई पनि स्विकार गर्नसक्नुपर्छ भनेर सह–अस्तित्व, समन्वय र एकतामा जोड दिने नेतामा शेरबहादुर देउवा अब्बल हुनुहुन्छ । त्यस कुरामा हामीले द्धिविधा राख्नुपर्दैन् ।’
देउवा किन दोहोरिनुपर्छ ?
उहाँ नेपाली काँग्रेसको खारिएको नेता हो । सबैलाई समेटेर जानसक्ने उहाँको क्षमता छ । शेरबहादुर देउवा अन्य राजनीतिक दलहरुसँग पनि समन्वय गर्नसक्ने क्षमता भएको एउटा नेता हो ।
नेपाली काँग्रेसमा अन्य नेताहरु पनि स्थापित हुनुहुन्छ । रामचन्द्र दाई पनि अत्यन्तै त्यागी, बलिदानी र योग्य नेता हुनुहुन्छ । त्यसमा दुईमत छैन् तर, नेपाली काँग्रेसभित्र सभापति एक जना व्यक्ति र प्रधानमन्त्री अर्को व्यक्ति हुँदा नेपाली काँग्रेसभित्र द्वन्द्व बढेको र त्यसपछि भएको निर्वाचनमा पार्टीले चाहेकोजस्तो परीणाम ल्याउन सकेको छैन् ।
२०४६ सालपछि आदरणीय सन्त नेता किसुनजी पार्टीको कार्यवाहक सभापति हुनुहुन्थ्यो र मुलुकको प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँले आफ्नो छोटो कार्यकालमा नेपालको संविधान निर्माण गर्नुभयो र पहिलो आम निर्वाचन पनि सम्पन्न गर्नुभयो । तर, उहाँले निर्वाचन पछि बानेश्वरको १ नम्बर क्षेत्र जस्तो जागरुक ठाउँबाट पनि प्रतिनिधिसभामा पराजय भोग्न परेको थियो ।
त्यसपछि उहाँ प्रधानमन्त्री बन्न सक्नुभएन र पार्टीका अर्का ज्यादै नै गतिशिल नेता गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्नुभयो । किसुनजी सभापति बन्नुभयो । तथापि उहाँहरु दुईजनाको बीचमा मेल हुन दिईएन । र, शक्ति संघर्षको कारणले गर्दा ५ वर्षको लागि प्राप्त जनादेश सरकारले पुरा गर्न सकेन । त्यसपछि २०५१ सालको मध्यावधि चुनावमा पहिलो स्थानबाट नेपाली काँग्रेस प्रतिपक्षमा पुगेको थियो ।
त्यसकारणले अहिले विशेष कारणले संयुक्त सरकारको प्रधानमन्त्री शेरबहादुर देउवा हुनुहुन्छ र आउने महाधिवेशन उहाँलाई नै सभापति बनायो भने गठबन्धनको सरकारले स्थानीय सरकारको निर्वाचन पनि सम्पन्न गर्नेछ साथै, आम निर्वाचन पनि सम्पन्न गर्नेछ । संविधानको रक्षा गर्ने, जनताको मौलिक अधिकारलाई स्थापित गर्ने, प्रेस स्वतन्त्रताको रक्षा गर्नेलगायतका नागरिक अधिकारलाई स्थापित गर्न सकिन्छ ।
त्यसकारण नेपाली काँग्रेसमा एकैपटक दुईवटा शक्तिकेन्द्र स्थापित गर्यौं भने शक्तिकेन्द्रको द्वन्द्व र टकराबले परीणाम नेपाली काँग्रेसकै विपक्षमा आउँछ । त्यसैले इतिहासको विवेचना गर्दा यसपटकको १४औं महाधिवेशनमा पार्टीका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई नै पार्टी सभापतिमा चयन गर्न सक्यौं भने नेपाली काँग्रेसभित्र र सरकारले पनि सफलता प्राप्त गर्न सक्छौं भन्ने हाम्रो विश्लेषण छ ।