हिंसा लुकाउँदा पीडकलाई उन्मुक्ति

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान जारी छ । समुदायदेखि अधिकारका सवाललाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तसम्म पुर्‍याउन यो विश्वव्यापी अभियानले महत्वपूर्ण भूमिका निभाएको छ । हुन त कतिले महिला अधिकारका विषयलाई रबर जस्तो जति तन्कायो, उति तन्कने र एकछिन पछि उही आकारमा आउने भनेर हल्का टिप्पणी पनि गर्ने गरेका छन् ।

जसले जे भने पनि यो आवाज उठाउने समय हो । बोलेर, लेखेर के हुन्छ भन्दै चूप बस्यौं र आवाज उठाउनै छोड्यौं भने झन् के होला ? बाहिरबाट महिला अधिकारसम्पन्न देखेर टीकाटिप्पणी गर्नेहरूले महिलाले भोगिरहेको हिंसा र पीडालाई अति नै सामान्यीकरण गर्छन् त्यति सुन्न मन गर्दैनन् । गोमन साँपले आफू भित्र विष रहेको थाहा नपाए जस्तै हिंस्रक सोचले ग्रस्त केही पुरुषहरू महिला अधिकारको आवाज उठाउँदा बित्तिकै अन्टसन्ट बहसमा उत्रन्छन् ।

प्रसङ्ग जोड्न चाहन्छु फेसबूकमा रहेको एउटा बुहारी ग्रुपको । ५२ हजार सदस्य त्यस ग्रुपमा छन् । ग्रुपमा छिनछिनमा पोष्ट हुने स्टाटसले नेपाली महिलाले भोगिरहेका घरेलु हिंसाको यथार्थलाई छर्लङ्ग पार्छ । ग्रुपमा हालै लेखिएका स्टाटस यस्ता छन् :

  • ‘तपाईंहरूको श्रीमान्ले झुण्डिएर मर् भन्नुभयो भने, तपाईं के गर्नुहुन्छ नि ?’
  • ‘विना गल्ती तल्लोस्तरका शब्दले गाली गर्दा कस्तो लाग्छ ? मलाई सारै मन दुखेर आउँछ ।’
  • ‘जब मनभरी पीडाले भरिंदा रुने ठाउँ कतै हुँदैन नि बाथरुममा पानी खोलेर रुनुको पीडा हजुरहरूलाई थाहा छ ?’
  • ‘हे भगवान छोरी जन्माउनु गलत लाग्न थाल्यो, किनकि कि भोलि गएर मेरो छोरीलाई मैले जस्तो दुःख भोग्न नपरोस् ।’
  • ‘भगवान छोरी मान्छेलाई अरू केही देऊ या नदेऊ गुनासो छैन, तर असल श्रीमान् देऊ नत्र जिन्दगी नर्कमा बित्छ ।’
  • ‘हजुरको बुढाले पोइला जा भन्नुभयो भने के गर्नुहुन्छ ?’

एकजना महिलाले त आफूलाई पारिवारिक हिंसाका कारण आत्महत्या गर्न मन लागेको समेत लेखेकी छन् भने केही महिलाले सम्बन्धविच्छेद गर्न कानूनी प्रक्रियाका बारेमा पनि सोधेकी छन् । कति सुत्केरी र गर्भवतीले आफूमाथि हुने गरेका हिंसा र आमाको कर्तव्य निभाउँदा हरेक रात जागा बस्नु परेको पीडालाई पनि पोखेका छन् ।

यी केही प्रतिनिधिमूलक स्टाटस हुन् । यसले महिलाले शारीरिक र मानसिक रूपमा घरेलु हिंसा कतिसम्म सहनुपर्छ भन्ने एउटा यथार्थलाई प्रस्तुत गर्छ । कहींकतै आफ्ना भावना पोख्न नपाएका-नसकेकाहरू सामाजिक सञ्जाल मार्फत आफ्ना पीडा पोखिरहेका छन् ।

यसभित्रका कारण फरक–फरक होलान् तर महिलामाथिको हिंसाको सार एउटै छ । प्रविधिको पहुँच भएका र पढे–लेखेका हातमा स्मार्ट फोन लिएर हिंड्ने महिलामा त यस्तो समस्या छ भने झन् प्रविधिको पहुँचदेखि टाढा भएका र लेखपढ गर्न नसक्ने महिलाको अवस्था कस्तो होला ?

पढेलेखेका र कामकाजी महिला पनि समाज, परिवार र माइतीको इज्जतले आफ्नो पीडा बाहिर ल्याउन नसक्ने र बनावटी हाँसोमा सामाजिक सञ्जालमा दम्पतीको फोटो सजाएर हिंड्न बाध्य महिलाको कहानी झनै डरलाग्दो छ ।

जहाँ कथित इज्जतले महिलाको अधिकारलाई बन्धक बनाइदिएको छ भने मानव भएर बाँच्ने अधिकारलाई कुण्ठित गरेको छ । अर्कोतर्फ बालिका माथि हुने हिंसा र बलात्कारलाई केलाउने हो भने झन् डरलाग्दो अवस्था देखिन्छ ।

समाजले के भन्ला भन्ने मनोविज्ञानले घटनाको वास्तविकता र दोषी थाहा पाएर पनि उजुरी नगरी लुकाउन खोज्दा बलात्कारीको मनोबल झन् उच्च देखिन्छ । महिला माथि हुने सबै किसिमका हिंसा विरुद्ध बोल्दा इज्जत, प्रतिष्ठामाथि आँच आउने डरले महिलालाई चूप लाग्न बाध्य बनाएको छ । यसकारण महिलाको स्वतन्त्र र हिंसारहित बाँच्न पाउने अधिकार समाजले खोसेको छ ।

केही वर्ष अगाडिको एउटा घटना हो । आफ्नै काकाबाट बलात्कारको शिकार भएकी एक १२ वर्षीया बालिकाले घटनाको बारेमा आफ्नै आमालाई सुनाइन् । घटना सुनेपछि विक्षिप्त बनेकी आमाले बलात्कारका कारण छोरीको रक्तस्राव नरोकिएपछि उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पुर्‍याइन् । ती बालिकाकी आमाले डाक्टरलाई वास्तविकता लुकाएर महीनावारीका कारण रक्तस्राव भएको बताइन् ।

तत्कालीन डा. डेला सिंह जोशीले बालिकाको संवेदनशील अङ्गमा गहिरो चोट देखेपछि बलात्कारको शिकार भएको बताइन् । अनि मात्र यो घटना बाहिर आयो । छोरीमाथिको त्यो जघन्य अपराधलाई समेत आमाले ढाकछोप गर्न बाध्य हुनुभित्रको यथार्थ न त कसैले सोध्यो, न त कसैले बुझ्न नै खोज्यो । समाजले आमालाई उल्टो निर्दयी आमा भनेर एकोहोरो गाली मात्र गर्‍यो ।

हाम्रो समाजले पुरुषलाई मर्द देख्छ, उसलाई साहसीको बिल्ला भिराइदिन्छ । तर, महिला भनेको सहनशील र चरित्रवान हुनुपर्छ भनेर सेतो वस्त्रको रूपमा चित्रित गरिदिन्छ । वस्त्रमा लागेको दाग देख्ने समाजले वस्त्रमा रङ छ्याप्नेलाई देख्दैन ।

समाजले छोरी माथि गर्ने विभेदपूर्ण व्यवहार सम्झेर आमाले तत्काल मौनता तोड्न सकिनन् र लुकाउन बाध्य भइन् । एकचोटि बलात्कारमा परेकी छोरी बाँचुञ्जेल ऊमाथि हुने मानसिक र शाब्दिक बलात्कारले उत्पन्न अवस्थासँग ऊ सधैं जुध्नुपर्नेछ र कहिल्यै मुक्ति पाउने छैन । यस्ता घटना बढिरहनुमा यो समाज झनै धेरै दोषी छ ।

घरमै बसिरहेकी बालिका आफन्तबाटै बलात्कृत हुँदा समाजले बालिकालाई नै दोषी करार गर्छ । हिंसामा परेकाहरूलाई उपेक्षा र बहिष्कार नै गर्छ । ऊ घरबाट निकालिन्छे र सडकमा आउन बाध्य हुन्छे भने पीडक घरमै सुरक्षित हुने गरेको देखिन्छ ।

यो समाज, जहाँ पुरुषलाई मर्द देखिन्छ, जेलनेल भोगेको हुनुपर्छ भनेर साहसीको बिल्ला भिराइदिन्छ भने महिला भनेको सहनशील र चरित्रवान हुनुपर्छ भनेर सेतो वस्त्रको रूपमा चित्रित गरिदिन्छ । वस्त्रमा लागेको दाग देख्ने समाजले वस्त्रमा रङ छ्याप्नेलाई देख्दैन ।

कानूनले अपराधीलाई दोषी देखेको छ, तर समाजको व्यावहारिक कानूनले निर्दोष महिला र बालिका दोषी देख्छ । यदि दोषी नदेख्दो हो त सम्मानजनक नजरले हेथ्र्यो भने कुनै पनि महिला आफ्नै घरभित्र यति धेरै अपमानित र असुरक्षित हुनु पर्दैनथ्यो । यदि समाजमा महिलाको सम्मानजनक स्थान थियो भने उनीहरू आफूमाथि भइरहेको अन्याय विरुद्ध निर्धक्क बोल्न सक्थे ।

आज पनि हिंसामा परेका महिलाले स्वतन्त्र रूपमा आफ्नो वृत्ति–विकास गर्न पाएका छैनन् । विभिन्न संघसंस्थाको आश्रयमा पुगेर आफ्नो रहर र सपनाहरूलाई तिलाञ्जली दिन बाध्य भएका छन् । सार्वजनिक जीवनमा उसलाई बलात्कारमा परेकी हो भनेर फरक दृष्टिकोण बनाइँदैनथ्यो भने घटना लुकाएर अपराध गर्नेलाई प्रश्रय दिने काम पनि कम हुन्थ्यो ।

हामी धेरै वर्षदेखि कानूनका पानामा महिला अधिकार स्थापितका लागि अक्षरहरू थपिरह्यौं । तर समाजमा छोरीलाई मानव भएर बाँच्न नदिने संस्कार, सोच र व्यवहारलाई पनि बदल्नुपर्छ भनेर केन्द्रित हुन सकेनौं । कोखदेखि काखसम्म हुने विभेदको मूल जरो पत्ता लगाएर अगाडि बढ्न सकेनौं ।

साँझ छोरी ढिला आउँदा छोरीलाई केही हुन्छ कि भन्ने आमा छोरा ढिला आउँदाको कारण खोज्न कहिल्यै लागेनौं । मेरी छोरी बलात्कारको शिकार हुन्छे कि भनेर हडबडाउने आमाको मनले कतै मेरो छोरा बलात्कारी पो हुन्छ कि भनेर सोचेन ।

छोरालाई सानैदेखि दिइने आवश्यकताभन्दा बढी स्वतन्त्रताभित्र कस्ता कुरा हुर्किएका छन् भन्ने खोजी अझै हुनसकेको छैन । किनभने ऊ छोरा हो, ‘मर्द’ पुरुष हो । उसले बाँच्ने जिन्दगीको २४ घण्टा नै स्वतन्त्र छ । तर छोरी घरभित्र आफन्त भनेकाबाट पनि जोगिन गाह्रो छ ।

परिवर्तित समयसँगै महिला आन्दोलनले विस्तारै गति लिंदैछ, तर यो सुस्त गतिले महिला पूर्ण रूपमा मानवअधिकारको प्रत्याभूत गरेर बाँच्न पाउने दिन आउन भने अझै सयौं वर्षको पर्खाइमा रहनुपर्ने देखिन्छ । मानवअधिकारको दृष्टिले महिला–पुरुष समान हुन् तर व्यावहारिक पक्षबाट महिला सधैं दोस्रो दर्जाको नागरिकको रूपमा रहनु परेको छ ।

समाज विकासको क्रमसँगै महिलामा आएको जागरुकताले महिला हिंसा सहेर बस्नुहुँदैन भन्ने केही हदसम्म सचेत बनाएको छ तर अधिकार सबै पुरुषको हातमा भएकाले महिलाहरू अझै पनि विभिन्न हिंसाको शिकारमा परेर निरीह बाँच्न बाध्य छन् ।

लेखिका पोखरामा क्रियाशील पत्रकार हुन्।