काठमाडौं । भारतीय दूरसञ्चार सेवाप्रदायक भोडाफोन आइडिया फाइभजी परीक्षणमा सफल भएको छ । गएको शुक्रबार भारतको पुणेमा गरिएको फाइभजी परीक्षणमा कम्पनीले ४.१ जीबीपीएसको गति हासिल गर्न सफल भएको हो ।
कम्पनीले भारतका तीन सहर पुणे, महाराष्ट्र र गान्धीनगरमा फाइभजी परीक्षणका लागि अनुमति प्राप्त गरेको छ, जहाँ दुई फरक सेवाप्रदायकबाट फाइभजी परीक्षणको काम गरिरहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार गान्धीनगरमा नोकियासँग र पुणेमा एरिक्सनसँग परीक्षण भइरहेको छ । त्यसमध्ये पुणेमा भएको परीक्षणमा ४.१ जीबीपीएस गति हासिल भएकाे कम्पनीकाे दाबी छ ।
उक्त स्थानमा २६ गिगाहर्ज ब्याण्डको स्पेक्ट्रम प्रयोग गरिएको थियो । थप दुई स्थानमा पनि चाँडै परीक्षण अघि बढाइने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार परीक्षण क्रममा मेडिकल, क्लाउड गेमिङ, आपतकालीन सेवालाई देशका दुर्गम क्षेत्रमा जोड्नका लागि प्रयोग गरिने छ ।