काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदित भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माको नियुक्ति पक्का भएको छ । अब राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्न बाँकी छ ।
नियुक्त हुन बाँकी नै भए पनि शर्मा सोमबार सुनुवाइ समितिमा आफ्नो अनुभव, योग्यता, अमेरिकामा पाएको सफलता लगायत सम्पूर्ण कुरा प्रस्तुत गरेर सांसदहरुलाई प्रफुल्लित बनाए । अमेरिकाको इतिहास उत्कृष्ट नेपाली राजदूत कहलिएका शर्मा अब भारतको कमाण्ड सम्हाल्न जाँदैछन् ।
यसक्रममा उनले संसदीय सुनुवाइ समितिमा आफ्न योजनाहरु सुनाए । उनको योजना सुनेर विपक्षी सांसदहरु पनि सन्तुष्ट रहे । एमाले सांसद सुरेन्द्र पाण्डेले त शर्माको आवश्यकता बेलायतमा पनि देखे । उनले यति अनुभव र विद्धता, कुटनीतिक कौशलता, अर्थशास्त्रका विज्ञलाई भारतको साटो बेलायतमा पठाएको अझै राम्रो हुन्थ्यो भनेर समेत प्रशंसा गरे ।
शर्माको पालमा नेपाल भारत सम्बन्धले उचाइमा लिने उनले विश्वास व्यक्त गरे । कांग्रेस सांसद भीमसेन दास प्रधानले त मातृका कोइरालाको पालादेखि, नेहरुको पालादेखि ट्रयाक बाहिर गएको नेपाल भारत सम्बन्धलाई लिकमा ल्याउन शर्माको भूमिका महत्वपूर्ण हुने बताए ।
कांग्रसकै पुष्पा भुसालले विश्वासको वातावरण बनाउन शुभकामना दिइन् । ‘सम्बन्ध निर्माण नयाँ ढंगले हुनुपर्छ । धार्मिक पर्यटन, धार्मिक सम्बन्ध पनि महत्त्वपूर्ण छ । पर्यटनमा पनि फाइदा लिनुपर्छ । यसलाई नयाँ आयाम र सम्बन्धका रूपमा लैजानुपर्छ’ उनले भनिन् ।
भारतप्रति जनताको विश्वास अभिवृद्धि गराउने, भारतप्रति नेपालीको विश्वास बढाउने काम गर्न सुझाव दिइन् । एमालेका सुमन प्याकुरेल राष्ट्रिय स्वाभिमानलाई उठाएर, आँखामा आँखामा जुधाएर यथार्थ कुरा राख्न शुभकामना दिए । सांसदहरुलाई प्रभावित पारेका शर्माले नेपाल भारत सम्बन्धमा आर्थिक, समाजिक राजनीतिक क्षेत्रमा सुधारको आवश्यक औल्याए ।
विश्वास ठुलो कुरा भन्दै उनले सजिलै गर्न सकिने दुइटै देशलाई फाइदा हुनेगरी विश्वास बढाउँदै जाने बताए । रणनीतिक रूपमा डायस्पोरा कम्युनिटीको साथमा रणनीतिक रूपमा अघि बढ्नुपर्ने योजन सुनाए । भारतमा भएका अवसरलाई नेपालको हितमा प्रयोग गर्न पहल गर्ने बताए । ‘पहिलो शिष्टाचार भेट र सम्बन्ध नै हो ।
भारतमा १३६ राजदूतावास छन् । यसमा कसरी प्रभावित पार्ने भन्ने महत्वपुर्ण कुरा हो,’ उनले भने । नेपाललाई प्रभाव पार्ने सामाजिक सांस्कृतिक आर्थिक नीतिहरू परिमार्जनका लागि पहल गर्ने उनको योजना छ । सञ्जाल व्यवस्थापन सुदृढीकरण आवश्यक छ ।
भारतमा सामाजिक र सांस्कृतिक कुटनीतिलाई महत्व दिनुपर्ने आवश्यकता छ । नेपालको बिजुली किन्दिन्छौं, समृद्धिमा पनि सघाउँछौं भनेका छन् । यी कुरालाई अगाडि बढाउँछु । रणनीति तर्जुमा मात्र होइन कार्यान्वयन पनि प्राथमिकता छ । आर्थिक क्षेत्रमा अन्तरदेशीय प्रसारण लाइनको व्यापार छ । गैर भन्सारको कुरा छ ।
बन्दरगाहमा दिनुपर्ने सुविधा लिन सकिएको छैन । पहल गर्छु । रसायनिक मलको कुरा पनि छ । लगानीसम्बन्धि ऐन कानुनबारे जानकारी गराउनुपर्ने अवस्था छ । सफलताका कुराहरू पनि देखाउनुपर्नेछ । सजिलो हुन्छ । भारतमा आप्रवासी धेरै छन् । तिनलाई नेपाल ल्याएर रोजगारी दिने । धार्मिक पर्यटन विकास, पर्यटन प्रवर्द्धन । सीमा समस्या छ । ईपीजी छ । सीमा समस्यामा भारतमात्र होइन पश्चिमाको पनि चासो छ । हुलाकी सडकलाई पनि अगाडि बढाउन पहल गर्छु ।
प्रदेशस्तरमा सम्बन्ध कायम गर्न पहल गर्छु । पहिला पर्यटकीय क्षेत्रमा लाने, हिन्दु र बुद्धिजम जोड्न सकिन्छ । ठाउँ देखाएर लगानीका लागि उत्प्रेरित गर्ने । यथार्थ कुरा प्रस्तुत गर्ने कुरामा विश्वास जगाउँछु । मेरो अनुभवले पनि मद्दत गर्छ । अनेस्टी, ट्रस्टले क्रेडिबिलिटी बढाउँछ । केही फरक कुरा गर्न कोसिस गर्छु । पुरानो अनुभवले पनि सफल हुन्छु भन्ने लाग्छ ।