वासिङटन — अमेरिकी सांसदहरूले तिब्बत मुद्दाबारे दलाइ लामासँग भेट्नका लागि राष्ट्रपति जो बाइडेनलाई आग्रह गरेका छन् । चीनसँग अमेरिकाको सम्बन्ध जोखिममा परे पनि उक्त भेट गर्नुपर्ने सांसदहरूको सुझाव छ ।
३८ जना सिनेटर र २७ जना प्रतिनिधिसभाका सदस्यहरूले दलाइ लामासँग संवादका लागि चीनलाई दबाब दिन भन्दै अमेरिकालाई पत्रमार्फत् आग्रह गरेका हुन् । उक्त समूहको अगुवाइ डेमोक्रेट्सका नेता पेट्रिक लेही र रिपब्लिकनका म्याक्रो रुबियोले गरेका छन् ।
बाइडेनले लामालाई ओभल अफिसमा निमन्त्रणा दिएर संवाद गर्दै नयाँ सन्देश तथा उदाहरण प्रस्तुत गर्नसक्ने भन्दै सांसदहरूले सुझाव दिएका छन् ।
तिब्बतबारे छलफलबाट मानव अधिकार र मानव मर्यादाको खोजलाई प्राथमिकता दिने विदेश नीतिको मूर्त रुप दिन सकिने उनीहरूको राय छ । यदी दलाइ लामा भ्रमण गर्न असमर्थ भएमा बाइडेनले उपराष्ट्रपति कमला ह्यारिस वा अरु कोही उच्च अधिकारीलाई संवादका लागि भारत पठाउन सक्ने पनि सिनेटरहरूको सुझाव छ ।
नोबेल शान्ति पुरस्कार विजेता दलाइ लामा १९५९ देखि भारतमा रहँदैआएका छन् । अमेरिकामा डोनल्ड ट्रम्पको कार्यकालभर र कोभिड महामारीका कारण आवतजावत रोकेपछि लामाले अमेरिकाको यात्रा गरेका छैनन् ।
तर लामाले यसअघि जलवायु परिवर्तन तथा आप्रवासीहरूका मुद्दालाई लिएर ट्रम्पको खुलेर आलोचना गरेका थिए । ट्रम्प र बाइडेन दुवैले मुस्लिम अल्पसंख्यक उइगुरको मुद्दालाई लिएर चीनको आलोचना गर्दैआएका छन् । एजेन्सी