दुरसञ्चार सेवा प्रदायक कम्पनी ‘एनसेल एक्जियाटा लिमिटेड’ले नेपाल आज विरुद्ध मुद्दा हाल्ने तयारी गरेको छ। एनसेल केन्द्रीय कार्यालयमा विगत ६ महिनादेखि भईरहेको कर्मचारीको आन्दोलन तथा कम्पनी भित्र देखिएका विकृती÷विसंगतीका विषयमा नेपाल आजले श्रृंखलावद्ध समाचार प्रकाशन गरेपछि मुद्दाको तयारी गरिएको हो।
एनसेलले काठमाण्डौं जिल्ला अदालतमा मुद्दा हाल्ने तयारी गरेको स्रोतको दावी छ। नेपाल आजमाथि दवाव श्रृजना गर्न र समाचारका कारण एनसेलमा केन्द्रीत भएको जनचासोलाई अन्यत्र डाइभर्ट गर्न मुद्दाको तयारी गरिएको जनाईएको छ।
एनसेलले यस अघि आफु विरुद्धका समाचार हटाउन तथा फलोअप नगर्न नेपाल आजलाई दवाव दिने, प्रलोभन दिने तथा धम्की दिनेसम्मको काम गरेको थियो। सवै अस्त्र असफल भएपछि एनसेलप्रति लागेका आरोप तथा उठाएका जिज्ञासाको जवाफ नदिई कम्पनीका सिईओ एण्डी चोङले खण्डन पठाएका थिए ।
पित पत्रकारीताको आरोपसहित पठाईएको खण्डन नेपाल आजले जस्ताको तस्तै प्रकाशित गरेको थियो । त्यसपछि पनि आन्दोलन र त्यससँग सम्वन्धित समाचार निरन्तर प्रकाशित भईरहेपछि अन्तिम विकल्पका रुपमा मुद्दाको तयारी गरिएको स्रोतले जनाएको छ।
यस विचमा एनसेलको माउ कम्पनी एक्जियाटाले सिईओ चोङलाई समाचारका विषयमा स्पष्टिकरण सोधेको थियो भने चित्तवुझ्दो जवाफ नपाएपछि छानविन चलिरहेको जनाईएको छ।
नेपाल आजले एनसेल केन्द्रिय कार्यालयमा विगत ६ महिनादेखि कर्मचारीहरु आन्दोलमा रहेपनि ब्यवस्थापनले वेवास्ता गरेको, कम्पनीका एचआर म्यानेजर युवराज श्रीवास्तवले कर्मचारीलाई वमले उडाईदिन्छु भन्दै धम्की दिएको, कम्पनीभित्र नेपाली कर्मचारी र विदेशी कर्मचारीका विचमा विभेद गरेको, श्रम शोषण गरेको, हुवावेसँग मिलेर सुचना चुहाएको र शिर्ष नेताहरुको निगरानी गरेकोलगायतका विषयमा समाचार प्रकाशन गरेको छ।