सहज हुँदै दुईपक्षीय सम्बन्ध

श्रीमननारायण
नेपाल र भारत परम्परागत छिमेकी राष्ट्र हुन् । खुला सिमाना, धार्मिक, सांस्कृतिक, राजनीतिक र आर्थिक सम्बन्धले हामीबीचको मित्रतालाई अझ प्रगाढ बनाएको छ । अर्को शब्दमा भन्नुपर्दा यी दुई देशबीचको भौगोलिक सन्निकटता, आर्थिक अन्तरसम्बन्ध र सामाजिक–सांस्कृतिक आदानप्रदान आदिका कारण यो सम्बन्ध राज्यस्तरमा मात्रै सीमित नरही जनस्तरमा समेत गहिरो र फराकिलो छ ।

नेपाल र भारतबीच कूटनीतिक सम्बन्ध कायम भएको सात दशक बितिसकेको छ तर यस लामो अवधिको सदुपयोग गर्न सकिएन, जबकि यस अवधिमा त संसारका धेरै देश त विकसित पनि भइसके । भारतसित नेपालको सम्बन्ध कहिल्यै खराब भएन तर धेरै राम्रो पनि रहेन । यसअघिको ओली सरकारको पालामा यस सम्बन्धमा केही चिसोपना अवश्य आएको थियो तर बिस्तार–बिस्तारै अब यो पहिलेकै र सकारात्मक दिशामा फर्किन थालेको छ । हुन पनि नेपाल–भारतबीच परस्पर अन्तरनिर्भरता, विश्वास तथा पारस्परिक लाभमा आधारित सम्बन्धको विकल्प छैन ।

नेपाल एवं भारतबीच कतिपय कुरामा समानता रहेका भए पनि आर्थिक प्रगतिको मामिलामा भारत नेपालभन्दा किन र कसरी अगाडि बढ्यो भन्ने विषयमा हामीले गम्भीर चिन्तन गर्नु आवश्यक छ । स्वत्रन्तताको सन्दर्भमा विकास र प्रगतिको विषय जोडिन्छ तर संसदीय लोकतान्त्रिक अभ्यास गर्ने कुरामा भारतमा स्वतन्त्रताभन्दा अघि नै केही प्रयास भइसकेका थिए । सन् १९३६ मा त्यहाँ चुनाव भयो । औद्योगीकरण र शिक्षाले गर्दा जनताको स्तर पनि केही उठी नै सकेको थियो । नेपालको राणा शासन पनि भारतको अङ्ग्रेजभन्दा कम सामन्ती थिएन । सानो देशमा सामन्ती व्यवस्था अनि औद्योगीकरण कम भएको हुँदा नेपालमा मध्यम वर्ग स्थापित नै हुन सकेन जब कि भारतमा स्वाधीनताभन्दा पहिले नै मध्यम वर्गको उदय भइसकेको थियो । मध्यम वर्गको चरित्र कस्तो हुन्छ भने उसले कुनै न कुनै रूपमा आफ्नो भावना तथा चाहनालाई व्यक्त गरिहाल्छ ।

भारतमा व्यावसायिक मध्यम वर्ग औद्योगिक मध्यम वर्ग एवं शैक्षिक मध्यम वर्गको जन्म निकै अघि भइसकेको थियो । कोलकाता, मुम्बई र मद्रासमा तीनवटा विश्वविद्यालय अङ्ग्रेजकै पालामा खुलिसकेका थिए । शिक्षा एवं औद्योगीकरणले गर्दा लोकतन्त्र विकासको प्रक्रियामा पनि भारत बिस्तार–बिस्तारै बढी नै रहेको थियो । अब नेपाल पनि लोकतन्त्रको विकास यात्रासँगै आर्थिक विकासको दिशामा अगाडि बढिरहेको छ । कुनै पनि देशको आर्थिक विकासका निम्ति राजनीतिक स्थायित्व आवश्यक मानिन्छ । लोकतान्त्रिक शासन प्रणालीमा विकास छिटो हुन्छ । कठोर शासकको पालामा पनि आर्थिक विकास भएको उदाहरण पाइन्छ भन्ने अधिकांश उदाहरणमा निरङ्कुश शासकको कारण देश आर्थिक रूपले तहसनहस भएको उदाहरण नै बढी पाइन्छ ।

प्रायः दुई देशबीचको सन्दर्भमा दुवै देशको सम्बन्धमा दुवै देशको आर्थिक हित नै सर्वोपरि हुने गर्दछ तथा सरकार–सरकारबीच नै सम्बन्ध कायम भएको हुन्छ तर नेपाल र भारतबीचको सम्बन्ध विश्वका अन्य देशहरू जस्तो छैन । नेपाल–भारत सम्बन्ध जनस्तरमा कायम छ । नेपाल एवं भारतका जनताबीच रोटीबेटीका साथै क्रान्ति र भ्रातृत्वको सम्बन्ध पनि छ । नेपालमा आजसम्म जति पनि परिवर्तन भएका छन्, त्यसमा भारतका जनताको सहयोग र सद्भाव छ । भारतको स्वाधीनता आन्दोलनमा नेपालीले सहयोग गरेकै हुन् । त्यसैगरी सीमा क्षेत्रको भारतीय नागरिक पनि नेपालका क्रान्तिमा शहीद भएका छन् । भारतीय नागरिक मास्टर गुरुदयाल, डा. कुलदीप तथा मोहमद जहाँगिर यसका उदाहरण हुन् । राजधानीमा बस्ने सरकारको आँखाबाट मात्रै यस सम्बन्धको व्याख्या गर्ने काम भयो भने सत्यको नजिक भरसक पुग्न सकिँदैन । नयाँदिल्ली र काठमाडौँको आफ्नै परिस्थितिजन्य बाध्यता हुन सक्दछ । सरकार सञ्चालनमा कतिपय अप्ठ्याराहरू हुन्छन् तर जनस्तरमा स्थापित यस सम्बन्धको गहिराइ र उचाइ व्याप्त छ । नेपालले यस सम्बन्धबाट जति लाभ लिन सक्नुपर्दथ्यो त्यति लिन सकेन ।

विगतमा माओवादी र संसद्वादी दलहरूबीच नयाँदिल्लीमा बाह्रबुँदे सहमति गराउँदा भारतले सहयोगात्मक भूमिका निर्वाह ग-यो । यसले नेपालमा शान्ति स्थापना गर्न तथा द्वन्द्वको अध्याय अन्त्य गर्न ठूलो सहयोग ग¥यो । आफ्नो सकारात्मक भूमिकाले अर्को देशमा राम्रो परिणाम आउँछ भने एउटा लोकतान्त्रिक मुलुकले लोकतन्त्रको स्थापनाका निम्ति सहयोगीको भूमिका निर्वाह गर्नु अस्वाभाविक हँुदैन । भारतले वि.सं. २००७ को प्रजातान्त्रिक आन्दोलन, वि.सं. २०४६ को निरङ्कुश पञ्चायतविरोधी आन्दोलन तथा वि.सं. २०६२/६३ सालको जनआन्दोलन–२ मा सहयोगात्मक भूमिकाको निर्वाह गरेको हो । भारतसँंग रहेको परम्परागत, बहुआयामिक सम्बन्धलाई नेपाली जनताको हितमा सदुपयोग गर्न सक्नुपर्दछ । परस्पर विश्वासमा आधारित सम्बन्धले दुवै देशको भलो नै गर्नेछ ।

अहिले नेपाल एवं भारतबीच सन् १९५० को शान्ति एवं मैत्री सम्बन्धलाई समीक्षा गर्ने काम भइरहेको छ । इतिहासको समीक्षा गर्ने कामलाई गलत भन्न मिल्दैन तर आशङ्का बढी हदसम्म पुग्दा केही नहुँदा पनि अनर्थ भइरहेको जस्तो लाग्छ । यस्तो आशङ्का उत्पन्न हुनेबित्तिकै संवादको संस्कृति विकसित गरी यसलाई निर्मूल पार्ने काम हुनुपर्दछ । नेपालले भारतबाट तथा भारतले नेपालबाट अपेक्षा राख्नु स्वाभाविक हो । एउटा छिमेकीसित राम्रो सम्बन्ध कायम गर्न अर्को छिमेकीसँग रहेको राम्रो सम्बन्ध बिगार्नु बुद्धिमानी हँुदैन । यसको आवश्यकता पनि छैन तर देखावटी प्रदर्शन गर्न खोज्नेहरूका कारण भने समस्या अवश्य पनि पर्नसक्छ । नेपालको हितलाई प्राथमिकतामा राखी दुवै छिमेकी राष्ट्रसँग सकारात्मक एवं सुमधुर सम्बन्ध विकसित गर्नुपर्दछ । भारत एवं चीन जस्ता दुई उदाउँदो शक्ति राष्ट्रबीच अवस्थित नेपालले अनावश्यक विषयमा बढी ध्यान केन्द्रित गर्नु अथवा चिन्ता गर्नुभन्दा आफ्नो देशको हित हुने कुरामा बढी ध्यान दिनुपर्दछ ।

मित्रताको मापदण्ड लेनदेन मात्रै हुन सक्दैन । मित्रतामा समानता, पे्रम, सहकार्य, सहयात्रा र सुमधुर सम्बन्ध आवश्यक हुन जान्छ । एक असल मित्रले आफ्नो अर्को मित्रको कुभलो चिताउने सोच्न सक्दैन । मित्रताको उपरोक्त मापदण्ड एउटा व्यक्तिको हकमा मात्रै होइन, अपितु एउटा राष्ट्रको हकमा पनि लागू हुन्छ । प्रायः दुई राष्ट्रबीचको सम्बन्घमा दुवै देशको आर्थिक हित सर्वोपरि हुने गर्दछ तर नेपाल–भारतबीचको सम्बन्धमा त्यस्तो छैन । विश्वका प्रायः सबै देश एकअर्का देशको वैधानिक सत्तासित मात्रै सम्बन्ध राख्ने गर्दछ तर भारतले नेपालको वैधानिक सरकारसित राम्रो सम्बन्ध राख्नुका साथै आन्दोलनकारी लोकतान्त्रिक दलहरूसित राम्रो सम्बन्ध राख्ने कार्य गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्धमा नवीन दृष्टिकोण देखापरेका र राष्ट्र–राष्ट्रबीच सम्बन्धमा पनि आर्थिक कूटनीतिले प्रमुखता पाउन लागेको सन्दर्भमा हामीले पनि सोहीअनुसार नीति बनाउन आवश्यक छ । राष्ट्रिय हित र राष्ट्रिय सुरक्षाका प्रश्न, बाह्य सम्बन्ध सञ्चालनका पक्षलाई दलीय सोच र मान्यताभन्दा माथि उठेर साझा सोच र राष्ट्रिय मान्यताका साथ अगाडि बढ्नुपर्दछ । छिमेकी राष्ट्रसितको सम्बन्धलाई कहिल्यै सडकमा र सदनमा राजनीतिको हतियार बन्न दिनु हँुदैन । दक्षिण एसियाका कतिपय देशको दयनीय आर्थिक अवस्थाको निम्ति पनि ती देशका राजनीतिक दलहरूको गैरजिम्मेवार एवं अपरिपक्व नीति नै जिम्मेवार मानिन्छ ।