देश भर काङ्ग्रेस प्रवेशको लहर , कम्युनिस्टले देश चल्दैन

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले पार्टीमा जनताको आकर्षण बढिरहेको बताएका छन् ।

काङ्ग्रेस बन्दिपुर गाउँसमिति–५ ले सोमबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पूर्वमन्त्री भण्डारीले कांग्रेस जनताको भरोसायोग्य पार्टी भएको उल्लेख गरे ।

‘देशैभर काँग्रेस प्रवेश गर्नेको लहर छ, जनताको आकर्षणले पार्टीलाई थप सुदृढ बन्न सहयोग पुग्छ,’ भण्डारीले भने, ‘जनताको भरोसा टुट्न दिँदैनौँ ।’

पूर्वमन्त्री भण्डारीले कांग्रेसलाई सबल र सक्षम बनाउन तल्लो तहदेखि नै कार्यकर्ता लाग्नुपर्नेमा जोड दिए । भण्डारीले निकट विषयमा हुने तीनवटै तहको निर्वाचन काँग्रेसले जित्ने दाबी गरे ।

उनले भने, ‘निर्वाचन जित्न अहिलेदेखि नै सङ्गठन सुदृढ बनाउनेतर्फ लागौँ, सबै एकजुट भएर लागेको खण्डमा कांग्रेस हार्दैन ।’

मुलुक र मुलुकवासीको भविष्य नेपाली कांग्रेसको हातमा रहेको उल्लेख गर्दै भण्डारीले जनताले तीन तहको निर्वाचनमा कांग्रेसलाई साथ दिने विश्वास व्यक्त गरे ।

मुलुकमा भएका सबै विकास र परिवर्तन कांग्रेसकै नेतृत्वमा भएको उनको भनाइ थियो । भण्डारीले कम्युनिस्टबाट देश सञ्चालन हुन नसक्ने भन्दै कम्युनिस्टले जनमतको कदर नगरेको आरोप लगाए ।