संजय यादव, सिरहा
१६ पुस, २०७८
जनमत पार्टीले घोषणा गरेको अनिश्चितकालीन पूर्व–पश्चिम राजमार्ग बन्दको प्रभाव सिरहा सहित मधेशका जिल्लाहरुमा परेका छन् । जनमतको बन्द असफल पार्न प्रहरी प्रशासनले सम्पूर्ण शक्ति पूर्व–पश्चिम राजमार्गमै परिचालन भएको देखिन्छन् । प्रहरी प्रशासनको ब्यापक दमन र हस्तक्षेपका वाबजुद पनि जनमतका कार्यकर्ताले बिहानै देखि पूर्व–पश्चिम राजमार्गमा सिरहाको लहान, सप्तरी, रौतहट, कपिलबस्तु, सर्लाही जिल्लाको बिभिन्न क्षेत्रमा प्रदर्शनलाई निरन्तरता दिएका छन् । जनमतका कार्यकर्ताले लहान क्षेत्रमा गरेको प्रदर्शनका कारण राजमार्ग ठप्प भएको छ । लहानमा कार्यकर्ताले उख’ बोकेर नै प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले हात हातमा लाठी बोकेर राजमार्ग अबरुद्ध गराएका छन् । उल्लेख्य संख्यामा रहेको प्रदर्शनकारीहरुले किसानको माग पुरा गर, प्रहरी दमन बन्द गर, किसानलाई मलखाद नदिने सरकार मुर्दाबाद जस्ता नारा लगाएका छन् । किसानलाई सिचाईको व्यवस्था वा बिजुली निशुल्क दिनुपर्ने, समयमा मलखाद उपलब्ध गराउनुपर्ने, किसानलाई पेन्सन दिनुपर्ने लगायतका ११ बुँदे माँग राखी जनमत पार्टी आन्दोलनमा उत्रेका छन् ।
बन्दको अवज्ञा गरेको भन्दै लहानमा प्रदर्शनको क्रममा जनमतका कार्यकर्ताले को.१.व. ३७२९ नम्बरको कारलाई तोडफोड गरेका छन् । आन्दोलनकै क्रममा रौतहटको चन्द्रनिगाहपुरमा जनमतका केन्द्रीय उपाध्यक्ष वसन्त कुशवाहा सहित १३ जना नेता कार्यकर्ता पक्राउ परेका छन् ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकामा गिटी लोड भएको ना.६.ख. ७६२९ नम्बरको ट्रकमा आगजनी समेत गरेका छन् । उता किसान आन्दोलनलाई समर्थन गर्दै कपिलवस्तुबाट समेत जनमत पार्टीका नेता कार्यकर्तालाई पक्राउ गरिएको छ । आन्दोलनमा एक्यबद्धता जनाउन गाउँ गाँउबाटबाट किसानहरु जाग्दै गरेको माहोल देखिन थालेका छन् । सिरहाको गोलबजार नगरपालिकाका एकजना बुद्धिजीवी भन्छन्, यो आन्दोलनलाई सरकारले गम्भीरतापूर्वक लिई वार्ताको माध्यमबाट निकासको वातावरण मिलाउन सक्नुपर्छ, नत्र किसान आन्दोलनबाट नै विद्रोह सुरु हुने निश्चित छ । यता जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले किसान आन्दोलनलाई दवाउन खोज्नु निन्दनीय रहेको भन्दै गिरफ्तार गरिएका आफ्ना सम्पूर्ण नेता कार्यकर्तालाई अबिलम्ब निःसर्त रिहा गर्न माग गरेका छन् ।