काठमाडौं । विराटनगर महानगरपालिकाको सिमावर्ती क्षेत्र जोगवनीमा पाँचौं अन्तरराष्ट्रिय मिथिला विद्यापति स्मृति महोत्सव भव्यताका साथ सम्पन्न भएको छ ।
विराटनगर संग भारतको जोडिएको सिमावर्ती क्षेत्र जोगवनीमा मिथिला क्षेत्रका बासिन्दारुले बनाउने विद्यापति स्मृति पर्व सम्पन्न भएको हो ।
सो कार्यक्रममा बिहार सरकारको खेलकुद तथा संस्कृति मन्त्री आलोक रंजन तथा नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख उपस्थितिमा आयोजित उक्त कार्यक्रममा नेपाल भारतका हजारौ मैथिलहरुको उपस्थिति रहेका थिए ।
महोत्सवको अवसरमा आज बिहान दुबै देशको महिला तथा बालबालिकाहरुले कलश यात्रा निकालिएको थियो । उक्त यात्राले दुवै देश बिचको सम्बन्ध मजबुत हुने आयोजकले विश्वास गरे ।
कार्यक्रममा सहभागी भएका कला, संस्कृति तथा खेलकुदमन्त्री आलोक रञ्जनले जय मिथिलाबाट सम्बोधन गर्दै यस महोत्सवबाट दुबै देशको सम्बन्ध झन् बलियो हुने तथा सदियौं देखि कायम रहेको रोटीबेटीको सम्बन्धलाई कसैले पनि छुटाउन नसक्ने बताए । उनले सीमांकन पछि मिथिला दुई देशमा बाँडिए पनि सांस्कृतिक रूपमा मिथिलाको संस्कृति यहाँका जनताको जीवनस्तर उस्तै रहेको स्पष्ट पारे । नेपालको प्रथम उपराष्ट्रपति परमानन्द झा सँग भेटघाट गर्ने अवसर पाएकोमा खुशी व्यक्त गरे ।
जोगबनी स्थित भारत नेपाल मैत्री समाजले आयोजना गरेको उक्त महोत्सव भव्यताका साथ सम्पन्न भएको कार्यक्रमको संयोजक माला मिश्रले जानकारी दिए । मैथिली र मिथिला संस्कृतिलाई प्रर्वद्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष उक्त महोत्सव आयोजना हुने गरेको उनले बताए ।
विद्यापतिको स्मरण गर्दै उनले आफ्नो भाषाभन्दा मीठो अरु केही हुन नसक्ने र हाम्रो भाषा मैथिली भएकोमा गर्व गर्दै हामी धेरै भाग्यमानी भएको बताए । साथै उनले स्व.अटल बिहारी वाजपेयीले मैथिली भाषालाई महत्व दिँदै आठौं अनुसूचीमा समावेश गरेका थिए, जसका लागि सम्पूर्ण मिथिलावासी उहाँप्रति सदैव ऋणी रहने बताए ।
सोही कार्यक्रमको संयोजक माला मिश्रलाई कृतज्ञता ब्यक्त गर्दै उनले संयोजकको अथक प्रयासले आजको कार्यक्रममा महिला शक्तिको उपस्थिति धेरै भएको देख्दा खुसी लागेको बताए ।
समाजमा उत्कृष्ट कार्य गर्ने एक दर्जनभन्दा बढी व्यक्तिलाई सम्मान गरिएको थियो
फणीश्वरनाथ रेणु स्मृति सम्मान सहित नेपालबाट आएका वरिष्ठ साहित्यकार धर्मेन्द्र झा, सामाजिक क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै जनकपुरबाट आएका इन्जिनियर भगवान झालाई अंगवस्त्र, माला र पागले सम्मान गरिएको थियो ।
कार्यक्रममा बिहार रानीगञ्जका विधायक अच्मत ऋषिदेव, मोरङ जिल्लाका नेता राजकुमार यादव, समाजसेवी राजेश गुप्ता, विराटनगरका मेयर भीम पराजुली, गायक सुमित खड्का, भारतिय जनता पार्टी जिल्ला अध्यक्ष सन्तोष राणा, सुपौल भाजपा नेता मनोज पाठक, पूर्व प्रधानाध्यापक इन्द्रेणी लगायतको लब्धप्रतिष्ठितहरुको उपस्थिति रहेको थियो ।