काठमाडौं । सत्ता गठबन्धनले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको सबै पदमा उठेका आफ्ना उम्मेदवारहरूलाई जिताउन संयन्त्र बनाउने निर्णय गरेको छ।
गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको अध्यक्षतामा बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले आफ्ना उम्मेदवारहरुलाई विजयी गराउने निर्णय गरेको हो ।
सात्यसका लागि आफ्ना मतदाताहरूलाई अपिल गर्दै सातै प्रदेशमा संयन्त्र गठन गर्ने निर्णय गरेको जनाएको छ ।
गठबन्धनले सातवटै प्रदेशमा संयन्त्र बनाउने र राष्ट्रिय सभा सदस्यमा उठेका आफ्ना उम्मेदवारहरूलाई जिताउन अपिल गर्ने निर्णय गरेको बैठकमा सहभागी सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
राष्ट्रिय सभामा रिक्त १९ सदस्य पदका लागि माघ १२ गते निर्वाचन हुँदै छ भने यसका लागि ४३ जनाले उम्मेदवारी दर्ता गराइसकेका छन्।
बिहीबार बिहान बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा संयोजक पौडेलसहित प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेता सहभागी भएका थिए।