कोठाभित्र आगो ताप्दा यी कुरामा ख्याल गरौं

देशका अधिकांश भागमा जाडो निक्कै बढेको छ । जाडो बढेसँगै  ग्यास गिजर, हिटर र कोइलाको प्रयोग पनि बढेको छ । जाडो मौसममा पानी तताउन र कोठा न्यानो बनाउन  ग्यास गिजर र विद्युतीय हिटरहरु प्रयोग गर्ने तथा आगो ताप्ने गरिन्छ ।

ग्यास तथा विद्युतीय उपकरणले दैनिक जीवनलाई सहज बनाएपनि  यसको प्रयोगमा सावधानी नअपनाउँदा दिनहुँजसो नै दुर्घटनाका खबर सुनिने गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत ग्यास गिजर, ग्यास हिटर, विद्युतीय हिटर, कोइला बाल्दा पर्याप्त हावा आवतजावत हुने व्यवस्था मिलाउन  आग्रह गरेको छ । केही कुरामा मात्र ध्यान दिए त्यस्ता दुर्घटनाबाट बच्‍न सकिन्छ ।

एकाबिहानै नेपालगञ्जमा रहेको कर्णाली प्रदेशको मेडिकल स्टोरको क्वाटरमा निस्सासिएर एकै परिवारका चार जनाको मृत्यु भएको खबरले पुसे पन्ध्र खल्लो भएको छ । अन्य तीन जनाको भेरी अस्पतालमा उपचार भइरहेको अपडेट छ ।

बढ्दै गएको चिसो र झरीले गर्दा आवश्यक सावधानी नपनाइकन कोठाभित्र आगो ताप्दा यस्ता घटनाहरु बारम्बार दोहोरिरहन्छन् । हामी आफैं वा आफन्त पनि यो घटनाको भागिदार हुनसक्ने सम्भावना रहन्छ, त्यसैले सावधानी आवश्यक छ ।

डा. अच्युतशाली घिमिरे

झरी परेपछि चिसो छेक्नका लागि पुस १४ गतेको साँझदेखि सात जनाले एउटै कोठामा कोइला बालेर तापेको र राति निभाएर सुतेको भन्ने कुरा बाहिर आएको छ । तर पनि ढोका थुनेर सुत्दा अक्सिन अभावमा त्यो  सबै घटना भएको अनुमान लगाउन सकिन्छ । मकलमा कोइला बालेर कोठा तताएको जस्तो देखिन्छ । र, यसरी ढोका थुनेर सुत्दा कार्बनमोनोअक्साइड पोइजनिङले गर्दा गम्भीर असर  पुर्‍याएको देखिन्छ ।

के हो कार्बनमोनोअक्साइड पोइजनिङ किन हुन्छ कोठाभित्र आगो बाल्दा मृत्यु ?

कार्बनमोनोअक्साइड रंगविहीन र गन्धविहीन हानिकारक ग्यास हो । यो प्राय: हिटर बाल्दा, आगो बाल्दा, जेनेरेटर चलाउँदा, ग्रिल्स चारकोल चलाउँदा उब्जिने गर्छ । जब भेन्टिलेसन राम्रो नभएको ठाउँमा कार्बनमोनोअक्साइड उब्जिन्छ त्यो त्यही कन्सन्ट्रेटेड भएर जम्मा हुन्छ । अनि जब अक्सिजनको सट्टामा सास फेर्दा कार्बनमोनोअक्साइड लिन्छौं, कार्बनमोनोअक्साइड सिधै रगतमा जान्छ (अक्सिजनको भन्दा कार्बनमोनोअक्साइडको हेमोग्लोबिनसँग बाइन्ड गर्ने क्षमता बढी हुन्छ) र बेहोस हुँदै मृत्यु समेत हुन सक्छ।

जाडोयाममा प्रायःजसो कोठा न्यानो बनाउन झ्याल ढोका बन्द गर्ने गर्छौं र मकलमा आगो बाल्छौं । जसले त्यसबाट निस्कने कार्बनमोनोअक्साइडको मात्रा शरीरमा बढ्दै जान्छ । जब अक्सिजन भन्दा बढी कार्बनमोनोअक्साइडको मात्रा बढ्छ, यसलाई नै कार्बनमोनोअक्साइड पोइजनिङ भनिन्छ ।

टाउको दुख्ने, कमजोरी हुने, वाकवाकी, बान्ता हुने, सास फेर्न गाह्रो हुने, निर्णय लिन नसक्ने जस्ता लक्षणहरु कार्बनमोनोअक्साइड पोइजनिङमा देखिन्छन् ।

जाडो महिनामा आगो ताप्दा ध्यान दिनुपर्ने कुराहरु

-कोठामा अक्सिजन राम्ररी पास हुन सक्ने भेन्टिलेसनको व्यवस्था गरौं ।

-हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने गरौं ।

-कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नतापौं ।

-आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराखौं।

-जब शरीरमा कार्बनमोनोअक्साइड बढ्दै गएर टाउको दुख्ने, रिंगटा लाग्ने जस्ता समस्याहरु देखिन शुरु हुन्छन्, हेल्चेक्र्याइँ नगरी अक्सिजन पर्याप्त प्राप्त हुने स्थानमा पुगौं ।

-बेहोस हुने अवस्था भन्दा अगाडि नै एउटा निर्णयमा पुगौं ।

-कोठामा धेरैबेर आगो तापेर बस्नहुँदैन । आगो ताप्ने कार्य छिटो सकेर निभाउने गरौं ।

-सुत्नुअघि अनिवार्य रुपमा हिटर निभाउने गरौं ।

-आफ्ना हरेक गतिविधिमा सहकर्मी, परिवारजन वा छिमेकीलाई पूर्व सूचना दिने गरौं । किनकि बेहोस भएको अवस्थामा समेत छिटो भन्दा छिटो उद्धार भएमा बाँच्न र बचाउन सकिन्छ।

-बेहोस भएको बिरामीलाई छिटो भन्दा छिटो अस्पताल पुर्‍याएर अक्सिजन मास्क मार्फत नाक र मुखबाट अक्सिजन दिइनुपर्छ । सास फेर्न नसक्नेलाई भेन्टिलेटरबाट भएपनि अक्सिजन दिनुपर्छ ।

-चाँडो उपचार गरेर अक्सिजनको लेभल रगतमा बढाउन सकेमा हुन सक्ने अनेक समस्या जस्तै ब्रेन ड्यामेज, मुटु ड्यामेज, अंग ड्यामेज र मृत्युबाट समेत बचाउन सकिन्छ ।