वीरगञ्ज पीडामा काठमाडौंलाई किन दुख्दैन ?

वीरगञ्ज । कोरोना भाइरस (कोभिड–१९) को कहर कट्यो कि भन्ने आशमा बसेका वीरगञ्जबासीलाई ८ साउनको एउटा खबरले झस्कायो । खबरको शीर्षक थियो– कोरोना संक्रमणबाट वीरगञ्जमा एकजनाको मृत्यु ।

साउन पहिलो साताभर कहिले शूल्य त कहिले एकाध कोरोना भाइरसका संक्रमित भेटिएको पर्सामा त्यसपछि हरेक दिन संक्रमित मात्र थपिएनन्, मृत्यु पनि बढेको छ । त्यसपछि हरेक दिन जसो कोरोना संक्रमणबाट वीरञ्जमा थप एकजनाको मृत्यु ! थप दुई जनाको मृत्यु ! जस्ता खबरहरु आइरहे ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । साउन १ गतेसम्म १६१ जना रहेका संक्रमित २७ साउनसम्म आइपुग्दा १ हजार १०७ जना पुगिसकेको छ ।

कोरोना संक्रमण नभएका वा सम्भावित संक्रमितले उपचार नपाएर मर्नुपर्ने अवस्था आएको छ ।

वीरगञ्ज छपकैयाकी विष्णु लामाले अस्पतालको गोलचक्कर काट्दाकाट्दै प्राण त्यागिन् । शुक्रबार राति स्वास्थ्यमा समस्या आएपछि आफन्तले एकपछि अर्को अस्पताल पु¥याए, तर न निजी, न सरकारी कुनैले पनि उपचार गरेनन् । र, शनिबार विहान कोभिड अस्पताल, गण्डकमा पुग्दा उनको मृत्यु भयो ।

विष्णु लामाले जसरी नै अस्पताल चाहार्दा चाहार्दै उपचार नपाएर मर्नेको संख्या ६ जना पुगेको छ ।

तर लाग्छ, कोरोनाको कहरले पिल्सिएको वीरगञ्जबारे काठमाडौं बेखबर छ । वीरगञ्जका विष्णु लामाहरुको पीडाले सिंहदरबारलाई पटक्कै छाएको छैन, दुखेको छैन ।

समस्या एकातिर, सरकार अर्कातिर

लक्षण भएका, दीर्घरोगी संक्रमितको संख्या बढ्दो छ । उनीहरुलाई कुनै पनि बेला आईसीयू वा भेन्टिलेटरको सहायता चाहिन सक्छ । तर, वीरगञ्जमा त्यसको अभाव छ । नेसनल मेडिकल कलेजलाई कोभिड अस्पताल बनाउन जिल्ला संकट व्यवस्थापन सेन्टरले सिफारिस गरेपनि कार्यान्वयन हुन सकेको छैन ।

हाल महानगरको पहलमा नारायणी अस्पताल अन्र्तगत गण्डक र वीरगञ्ज हेल्थकेयरलाई अस्थायी कोभिड अस्पताल बनाइएको छ, जहाँ १५७ जना संक्रमित उपचाररत छन् । उनीहरुमध्ये ३४ जनाको आईसीयूमा उपचार भइरहेको छ ।

वीरगञ्जको त्रिजुद्ध स्कुलमा ५ जना, कारागार आइसोलेसनमा ३८, सिद्धार्थ स्कुल आइसोलेसनमा ३२, विजयज्योति होटलमा ९, वीरगञ्ज कलवार धर्मशालामा ५२, पटेर्वासुगौलीमा ५, नारायणी बयोधा अस्पतालमा १०, रानी पोखरी होटलमा ३४ र राणीसती धर्मशालामा ४१ जना गरी २२६ जना संक्रमित रहेको जनस्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुर बताउँछन् ।

आइसोलेसन सेन्टरबाहिर ४१४ जना छन्, जसमध्ये वीरगञ्ज महानगरमा मात्र ३७४ जना छन् । स्थानीय प्रशासनले उनीहरु होम आइसोलेसनमा राहेको बताए पनि त्यसको मापदण्ड पालना गरे–नगरेको निगरानी हुने गरेको छैन ।

संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी छैन ।

चिकित्सक, स्वास्थ्यकर्मीका साथै डायलासिस गराउन आएकाहरु समेत कोरोना संक्रमण पुष्टि भएपछि नारायणी अस्पतालको इर्मजेन्सी बाहेकका सेवा बन्द छ ।

स्वास्थ्यकर्मीहरु समेत क्वारेन्टिनमा बस्नुपर्ने भएकाले जनरल अस्पताल शुरु गर्न कम्तिमा ५० जना थप जनशक्ति आवश्यक पर्ने अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्याय त्यसका लागि बताउँछन् । जनशक्ति उपलब्ध गराइदिन अस्पताल प्रशासनले केन्द्रमा पटक–पटक लेखेर पठाएको छ, प्रदेश सरकारलाई पनि अनुरोध गरेको छ, तर सुनवाइ भएन ।

स्थानीय प्रशासनसँग समन्वय गरेर वीरगञ्ज महानगरपालिकाले पठाएका ३० जना कर्मचारीले काम गर्न नमानेपछि प्रहरी लगाएर पक्राउ गर्नुपरेको तितो यथार्थ छ ।

प्रयोगशालामा पनि त्यस्तै चाप छ । महानगरले जनस्तरबाट रकम उठाएर पीसीआर मेसिन दिएपछि नारायणी अस्पतालको प्रयोगशालामा दैनिक ५ सय हाराहारीमा नमुना परीक्षण हुन सक्छ, तर ल्याबमा ८ जना मात्र कर्मचारी छन् ।

गणतन्त्रमा पञ्चायतकालीन अनुभव

देशकै लाइफ लाइन मानिने वीरगञ्जले व्यवस्था परिवर्तनका लागि भएका हरेक आन्दोलनमा योगदान गरेको छ । तर, राज्यले वीरगञ्जबाट लिन जानेको, दिन कहिल्यै नजानेको गुनासो यहाँका नागरिकले गर्दै आएका छन् । विकास निमार्णमा पछाडि परेको वीरगञ्जले कोरोना कहरमा पनि केन्द्रको साथ पाएको छैन । महामारीमा केन्द्रले पञ्चायतकालीन वयवहार गरेको अगुवाहरु बताउँछन् ।

उद्योगी गणेश लाठ वीरगञ्जमाथि काठमाडौंको विभेद परम्परागत भएको बताउँछन् । आफ्नो बुवाको पालामा काठमाडौं जान अञ्चलाधीशसँग अनुमति लिनुपर्ने व्यवस्था रहेको स्मरण गर्दै उनले भने, किन जाने ? कति दिन बस्ने ? भनेर अञ्चलाधीश कहाँ निवेदन गर्नुपथ्र्यो । सानो चिटजस्तो राहदानी दिन्थे । मिनिबस चल्थ्यो । चुरियामा टनेल बाहिर प्रहरीले राहदानी हेर्थे, अनि मात्रै जान दिन्न्थे ।’

अघि भने, ‘भाइ भारदारलाई कारबाही गर्न परे अलौं ग्रस्त क्षेत्र भएकाले यता पठाइन्थ्यो । वीरशमसेर पनि त्यसैगरी कारवाहीमा परेर वीरगञ्ज आएका हुन् ।’

हरेक १०÷१५ वर्षमा व्यवस्था परिवर्तन भएपनि मानसिकतामा परिवर्तन नभएको भन्दै उनले भने, काठमाडौं प्रवेश गर्ने नाकामा टाटा मोबाइल गाडीबाट स्वास्थ्यकर्मीले स्वाब संकलन गरे । त्यो व्यवस्था वीरगञ्जमा किन हुन सकेन ? मानिसहरु मरिहेका छन् । तर, राज्य निर्मम भएर चुप बसेको छ ।’

हुन पनि वीरगञ्जमा विष्णुहरुले अस्पतालको चक्कर काट्दाकाट्दै मृत्युवरण गर्नु परेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान भने वीरगञ्जबाट पश्चिमा पर्ने ठोरी र माडीतिर थियो । शनिबार मात्र उनले माडी नगरपालिकाका जनप्रतिनिधिलाई काठमाडौं बोलाए, रामको भब्य मन्दीर बनाउन निर्देशन दिए ।

वीरगञ्जमा रहेका राजनीतिक विष्लेषक एवं वरिष्ठ पत्रकार चन्द्र किशोर समस्या आफ्नो वरपर आइपुगेपछि मात्र देख्ने सत्ताको मनोविज्ञान नै भएको बताउँछन् ।

‘अहिले वीरगञ्ज कोरोनाका कारण समस्यामा छ । यसैले सरकारले वास्ता गरेन भन्ने लाग्छ । भोलि अरुलाई पनि यस्तै लाग्छ’ उनले भने, ‘मधेसी–पहाडी, कालो–गोरो वा फरक पार्टी भएर होइन, सत्ताको मनोविज्ञान नै त्यस्तो हुन्छ ।’

जुम्ला हुम्लामा झाडापखालाले थुप्रै मानिस वर्दा पनि सत्तालाई नपोलेको भन्दै उनले भने, ‘सत्तालाई रापताप नलागेसम्म उसले समस्यालाई समस्या देख्दैन, कोरोना महामारीमा पनि काठमाडौंको त्यहि प्रवृत्ति र मनोविज्ञान दोहोरियो ।’

मिडियाले पनि काठमाण्डुमा भएका स–साना घटनालाई प्राथमिकताका साथ स्थान दिने गरेको बताउँदै उनले त्यो पनि सत्ताकै मनोविज्ञानको उपज भएको तर्क गरे ।

सीमामा सहज र व्यवस्थित आवागमनको बन्दोबन्द मिलाएको भए यो अवस्था नआउने उनले बताए । ‘भारतमा लकडाउनपछि रोजगारीका लागि त्यहाँ गएका लाखौं नेपाली अलपत्र परे, जसोतसो सीमासम्म आएपछि पनि उतै रोकिए’ उनले भने, ‘राज्यले बोर्डरबाट सहज आवागमनको व्यवस्था मिलाएर उनीहरुको व्यवस्थापन गर्न सक्नुपथ्र्यो । मानिसहरुले सीमामै ज्यान गुमाउने, सुत्केरी हुने, संक्रमित हुने वा आत्महत्या गर्नुपर्ने अवस्था त आउँदैनथ्यो नि ।’

अहिले कोरोना संक्रमण काठमाडौं पुगेपछि बल्ल सरकार जुर्मुराएको उनले बताए । उपत्यका प्रवेश नाकाका कडाइ गर्ने निर्णयतर्फ संकेत गर्दै उनले भने, ‘अहिले बोर्डरमा जेसुकै होस् भनेर काठमाडौंलाई घेर्न थाले । विस्तारै बालुवाटार र शीतलनिवास मात्रै घेरेर आफूहरु सुरक्षित रहन उपाय लगाउनेछन् ।’