काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि ११ दिनपछि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता भएको हो।
केही समयअघि बाट प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता जारी रहेको अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए।
प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच कर्णाली प्रदेशमा देखिएको विवादपछि भेटवार्ता रोकिएको थियो। राजदूत नियुक्त, मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली विवाद, पर्सा घटना र भारतीय जासुस संस्था रअका प्रमुख सामन्त कुमार गोयलसँगको भेटवार्ता लगायतका विषयमा ओली दाहालबीच कुरा मिलेको छैन।
यसअघि दूरी बढेपछि अध्यक्ष दाहाललाई छलफलका लागि आग्रह गर्न ओलीले आफू निकटका नेताहरूलाई दिनहुँ खुमलटार पठाउने गरेको थिए।
शुक्रबार प्रधानमन्त्री ओलीले आफू निकटका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई प्रचण्डसँग भेट्न पठाएका थिए। यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बिहीबार, अर्थमन्त्री एवं पार्टी महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्बाङले प्रचण्डसँग बुधबार छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। thahakhabar