काठमाडौं – जनस्वास्थ्यविद् डा रवीन्द्र पाण्डेले बेलायतमा देखिएको नयाँ प्रजातिको कोरोना भाइरसबारे डर नमान्न अनुरोध गरेका छन् ।
‘यो कोरोना भाइरस नै हो । अर्को नयाँ भाइरस हैन । भाइरसको स्वरूप परिवर्तन अर्थात म्युटेसन भइरहन्छ, त्यही क्रममा बेलायतमा स्वरूप परिवर्तन भएको कोरोना भाइरसको नयाँ प्रजाति देखिएको हो’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘पुरानो कोरोना भाइरसभन्दा यो ७० प्रतिशत बढी सर्न सक्दछ । उदाहरणको लागि पुरानो भाइरस कुनै समुदायमा एक हजार जनामा फैलिन्थ्यो भने यो ७० प्रतिशत बढी अर्थात १७०० जनालाई संक्रमण गराउन सक्छ ।’
यो भाइरसको मृत्युदर हामीकहाँ अहिले भएको कोरोना भाइरसको मृत्युदर भन्दा कम रहेको जनाइएको छ । आम सर्वसाधारणमा नयाँ खतरा भाइरस आयो भन्ने हल्ला चलाइएपनि त्यसमा सत्यता नरहेको उनको भनाइ छ ।