शिव बाेहाेरा
म्याग्दी । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालको आधार शिविर पदमार्गको यात्रा सहज बन्न थालेको छ । आधार शिविरसम्म ब्यवस्थित पदमार्ग निर्माण भएपछि आवत जावतमा सहज हुनुका साथै पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको छ ।
धौलागिरि आधार शिविरको पर्यटन विकासका लागि धवलागिरी गाउँपालिका, संघीय र प्रदेश सरकारको साझेदारीमा पदमार्ग, सूचना केन्द्र र मोवाइल फोन सेवा बिस्तारको लागि बिटिएस भवन निर्माण भएको छ । नाउराको भीरदेखि इटली आधार शिविरसम्म आधारभूत स्तरको पदमार्ग निर्माण भएको हो ।
यसअघि साँघुरो बाटोमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता नयाँ पदमार्ग निर्माण भएपछि हटेको छ । पदमार्ग बनेपछि भरिया र हेलिकाेप्टरको विकल्पमा खच्चरबाट सामान ढुवानी हुन थालेको छ । पर्यटकहरु पैदल यात्रा गरेर आधार शिविर पुग्न थालेका स्थानीय ब्यवसायी यामलाल शर्माले बताउनुभयो ।
भीर र जङ्गलको जोखिमपूर्ण ठाउँमा बाटो फराकिलो र सिढी सहितको पदमार्ग बनाउन गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पछिल्ला दुई वर्षमा करिब दुई करोड रुपैयाँ लगानी गरेको छ । २०७५ सालमा ५० लाखमा नाउरा भीरदेखि सल्लाघारीसम्म र २०७६ मा ४० लाखमा तलित्रेदेखि इटली आधार शिविरसम्म ६ किलोमिटर पदमार्ग निर्माण भएको छ ।
प्रदेश सरकारले अर्को शीर्षकमा २०६५ मै बिनियोजन गरेको ५० लाखबाट मुदी, नाउरा, खाम्ला, घिमलेटी, खिवाङ–देउराली क्षेत्रमा पदमार्ग बनाइएको उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद तिलिजाले बताउनुभयो ।
गत आर्थिक वर्षमै धवलागिरी गाउँपालिकाको ३० लाखमा बगर, बाँसबोट, सिङकुस, जुरकुस हँदै मल्कबाङ जोड्ने डाँडाखर्कसम्मको पदमार्ग पनि निर्माण भएको छ । पर्यटकको तथ्याङ्क राख्न, सूचना र प्राथमिक उपचार सेवा उपलब्ध गराउन इटाली आधार शिविरमा चेक पोष्ट सञ्चालनका लागि ३१ लाख रुपैयाँ खर्चेर तीन कोठे भवन बनाएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो ।
चालु आर्थिक वर्षमा पर्यटन विभागले थप चार करोडको ठेक्का प्रक्रिया अघि बढाएको छ ।
संघीय सरकारको पर्यटन मन्त्रालयबाट विनियोजन भएको १५ लाख बजेटबाट २०७५ मा इटाली क्याम्पदेखि स्वीस क्याम्पसम्म ढुङ्गाको सिढी चिनेर पदमार्ग बनाइएको थियो ।
बगरको प्राकृतिक तातोपानी कुण्डलाई व्यवस्थित र आधार शिविरसम्म मोवाइल सेवा विस्तार गर्न बगरको देउरालीमा टेलिकमले बिटिएस टावर स्थापना गर्न भवन निर्माण भएको छ ।
जापानीज आधार शिविरमा म्याग्दी खोलामाथि ४६ मिटर र इटली आधार शिविरमा अर्को ३५० मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि सर्वेक्षण गरिएको छ । थप ५ ठाउँमा पुल र स्वीस क्याम्पबाट जापानीज क्याम्पसम्म पदमार्ग निर्माणको आवश्यकता छ ।