शुभ नारायण यादव
सप्तरी । सप्तरीको रुपनी गाउँपालिका अन्तर्गत विभिन्न शाखामा कार्यरत कर्मचारीहरुलाई सरुवा गरेको भन्दै निर्वाचित जनप्रतिनिधिहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।
गाउँपालिकाले एकलौटी रुपमा एकल निर्णय गरी विभिन्न शाखाका कर्मचारीहरुलाई सरुवा गरेको भन्दै निर्वाचित एकदर्जन जनप्रतिनिधिहरुले मंगलबार ज्ञापनपत्र बुझाएका हुन् ।
स्थानीय निकाय सञ्चालन भएदेखि कार्यरत कर्मचारीहरुले कुशलतापुर्वक सेवा दिदै आएकोमा विना परामर्श राय सल्लाह बमोजिम सरुवा गरेको, वडाअध्यक्षहरुलाई वेवास्ता गर्दै निरंकुश अधिनायकवादी चरित्र देखाई आमजनतालाई अनावश्यक दुख दिने नियतले स्थानीय सरकारको मर्म र भावनाविरुद्ध कार्य गरेको तथा राजनैतिक पुर्वाग्राही भावनाले अन्य राजनैतिक ब्यक्तिको दबाबमा पायक पर्ने कर्मचारीलाई आफ्नो अभिष्ट पुरा गर्न नेपाल सरकार र स्थानीय सरकारको नीति, नियम, मर्मलाई वेवास्ता गर्दै गाउँपालिकाले भत्ताभङ्ग गर्न खोजेको भन्दै सो ज्ञापन पत्र बुझाएको छ ।
रुपनी गाउँपालिका ३ का वडाअध्यक्ष अमर मुखिया,४ का वडाध्यक्ष छेदी इसर, ५ का वडाध्यक्ष जगदिश दास,६ का वडाध्यक्ष बद्रीनारायण चौधरी, कार्यपालिका सदस्यहरु ज्ञानेन्द्रप्रसाद ईसर, सीतादेवी साह, भुपिया देवी खंग, देवकी देवी, रामकुमारी सदा र लिलादेवी साह लगायतले संयुक्त रुपमा ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।
जायज माँगहरु सात दिन भित्रमा पुरा नभएको खण्डमा गाउँपालिकाविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
उक्त ज्ञापनपत्र जिल्ला समन्वय समिति तथा जिल्ला प्रशासन कार्यालय सप्तरीलाई समेत बोधार्थ गरिएको छ ।