संजय यादव, सिरहा
१४ चैत्र, २०७७
सिरहाको बिष्णुपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र कुमार महतले चालु आबमा विष्णुपुर गाउँपालिकामा योजना अनुसारको शतप्रतिशत र गुणस्तरीय काम हुनेमा आफु पूर्ण विश्वस्त रहेको बताएका छन् । स्थानीय तहमा निर्वाध रूपले काम गर्न निकै नै चुनौति रहेको स्वीकारर्दै सहज वातावरण बनाई कामकाज अगाडि बढाई रहेकोे बताए । रेडियो आकाशगंगा एफएम गोलबजारका स्टेशन मैनेजर पत्रकार संजय यादवसंगको कुराकानीमा प्रमुख प्रशासकीय अधिकृत महतले यस्तो बताए । प्रमुख अधिकृत महतले भने, अव्यवस्थित तरिकाबाट चल्दै आएको प्रशासनिक कामकाजलाई म कार्यालयमा हाजिर हुँदा देखि ब्यवस्थित बनाउँदै आएको । आन्तरिक नियन्त्रण पटक्कै थिएन, प्रशासनिक कामकाज, योजना, सामाजिक विकास लगायतको शाखामा जवाफदेहिता देखिएको थिएन । सेवाग्राहीलाई अलमलमा नपारी सहज किसिमले सेवा पाउने वातावरण बनाउँदै गरेको बताए । अहिले सिस्टमेटिक रुपले कामकाज भइरहेको र सबै फाँटहरुलाई व्यवस्थित बनाउँदै त्रुटि पाएका कामहरुलाई चुस्त दुरुस्त र छरितो बनाउन कर्मचारीहरुको जिम्मेवारी पनि हेरफेर गर्नुु परेको समेत बताए ।
प्रमुख प्रशासकीय अधिकृत महतले थपे, समष्टिगतमा भन्नु पर्दा विकास निर्माणको कार्य प्रगतिमा रहेको तर केही व्यक्तिहरू बिगत देखि नै सार्वजनिक सम्पत्तिहरु भोगचलन गर्दै आइरहेकोमा उनीहरुलाई अहिले आएर छोड्न ठूलै समस्या भइरहेको समेत बताए । जनप्रतिनिधिहरु गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगायत वडा अध्यक्षहरुसंग काम गर्दा सहज वातावरण नै भएको बताए । गापाको मुख्य आम्दानीको श्रोत नै पोखरी रहेकोले पोखरी ठेक्का प्रक्रिया अगाडि बढाई पाँचवटै वडामा सुविधा सम्पन्न सामुदायिक भवन निर्माण कार्य सम्पन्न गर्नुको साथै विशेष गाउँसभा पनि सम्पन गरेको बताए । सेवाग्राहीले छिटो र छरितो सेवा पाउनकोलागि मातहतका विषयगत शाखा प्रमुखहरुलाई उत्तरदायित्व र जवाफदेहिताका साथ कामकाज गर्न निर्देशन भए अनुसार नै कामकाज भईरहेको बताए । सबै आयोजनाहरुलाई कुनै पनि पार्टी, पक्ष, विपक्ष नहेरी निर्वाधरुपमा विकासको कामकाज आगाडी बढाउनमा सहयोग गर्नहुन सबैमा प्रमुख प्रशासकीय अधिकृत महतले अनुरोध पनि गरे ।