संजय यादव, सिरहा
३ बैसाख २०७८
सिरहाको गोलबजार नगरकार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव(प्रप्रअ) श्रीधर केसीलाई नेपाल सरकार विभूषण अधिकार पत्रद्वारा विभूषित गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत उपसचिव केसीले नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा गरेको उल्लेखनीय योगदानको उच्च मूल्यांकन गर्दै नेपाल सरकारले सम्मान स्वरुप “प्रबल जनसेवाश्री चतुर्थ श्रेणी” द्वारा विभूषित गरिएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र विभूषण समितिका अध्यक्ष ईश्वर पोखरेलद्वारा बिभूषित गरिएको विभूषण अधिकार पत्रमा उपसचिव केसीलाई मानपदवीको गरिमा अक्षुण्ण राख्दै नेपाल र नेपाली जनताको गौरव एवम श्रीवृद्धिमा थप सफलता प्राप्त होस् भनेका छन् । प्रप्रअ केसीलाई नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीबाट २०७७ सालको संविधान दिवस (राष्ट्रिय दिवस) का दिन विभूषण प्रदान गर्न घोषणा भएबमोजिम नयाँ वर्षको वैशाख १ गते बुधबारका दिन प्रप्रअ केसी विभूषित भएका छन् ।
प्रप्रअ उपसचिव केसी विगत दुई वर्षदेखि गोलबजार नगरपालिकामा कुशल प्रशासक भएर सफल कामकाज गर्दै आइरहेको प्रति गोलबजार नगरपालिकाका स्थानीय बुद्धिजीवीहरु खुलेर प्रशंसा गरिरहेका छन् । गोलबजार नगरपालिका निर्वाचित एक जना पदाधिकारी भन्छन्, केसी हाकिम साबमा सबैलाई मिलाएर हिन्न सक्ने क्षमता भएकोले नगरपालिका अन्तर्गतका सबै विषयगत शाखाहरूको प्रगती सन्तोषजनक नै रहेका छन् । उहाँको लगनशीलता र मिहनेतले शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक विकास, विकास निर्माण जस्ता कामहरुले निकै नै फड्को मारेको समेत बताए । हाकिम साबको हामी कर्मचारीहरुले भरपूर सहयोग र साथ पाउँदै आइरहेकोले विश्व कोरोना महामारीको सन्त्रासमा पनि गत आबमा पनि योजना अनुसारको काम गर्न सक्यौँ र चालु आबमा पनि उच्च मनोबलका साथ गरिरहेको नगरपालिकामा कार्यरत एक जना कर्मचारीको कथन रहेको छ ।
नगरवासीको सन्तुष्टि नै मेरो ब्यक्तिगत र कार्यालयको सन्तुष्टि रहेकोले आमनगरबासीले सहज वातावरणमा कसरी अधिकतम सेवा सुविधा पाउने र समृद्ध नगरपालिका कसरी बनाउने कार्यमा निरन्तर लाग्दै आएको प्रप्रअ अधिकृत केसीले भने, । नेपाल सरकारबाट विभूषित भएपछि अझ जिम्मेवारी र उत्तरदायित्व बढेको महसुस भईरहेकोे अधिकृत केसीले बताए । अधिकृत केसीले आफ्नो छोट्टै कार्यकालमा नगरपालिकामा नमूना र उदाहरणीय कामहरु गरी जनप्रिय बन्न सफल भईरहेको एक जना नागरिक समाजका अगुवाले बताए ।