संजय यादव, सिरहा
२९ जेठ २०७८
सिरहाको गोलबजार नगरपालिकाले संचालनमा ल्याइएको अस्थायी कोभिड अस्पताललाई स्वास्थ्य सेवा तथा उद्धार संघ नेपाल (हेसरा नेपाल) नामक संस्था मार्फत डिजिटल ईसीजी मेशिन सहित आवश्यक स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरी सहयोग गरेका छन् । कोरोना महामारीको दोस्रो लहर चलिरहेकै बेला डिजिटल इसीजी मेशिन सहित ४० लाख बराबरको स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको हेल्पिङ हयाण्ड फोर रिलिफ एण्ड डेभलपमेण्टका कार्यकारी प्रमुख जीवा पोखरेलले बताए । हेल्पिङ हयाण्ड फोर रिलिफ एण्ड डेभलपमेण्ट अमेरिकाको आर्थिक सहयोगमा हेसरा नेपाल मार्फत ४० लाख बराबरको आईसीयू बेड, डिलेभरी बेड, डिजिटल ईसीजी मेशिन सहित १ सय २९ प्रकारको स्वास्थ्य सामग्रीहरु गोलबजार नगर प्रमुख देवनाथ साह मार्फत अस्पताललाई हस्तान्तरण गरे । हेल्पिङ हयाण्डले हाल ८४ वटा देशमा कार्यक्रम गरिरहेको जसमा नेपालको काठमाडौँ, झापा र कपिलवस्तुलाई कार्यक्षेत्र बनाई काम गर्दै आइरहेकोमा यसपालि देखि सिरहामा पनि सुरुवात गरेको कार्यकारी प्रमुख जीवा पोखरेलले बताए ।
सामग्री हस्तान्तरण कार्यक्रममा डिसीएमसी सिरहाका अध्यक्ष समेत रहेको सिरहा जिल्ला प्रमुख अधिकारी प्रदीपराज कणेलले स्वास्थ्य सामग्रीहरु अस्पताललाई सहयोग गरेकोमा हेसरा नेपाललाई धन्यवाद दिँदै भने, यो सहित सिराहा जिल्लामा कोभिड रिसपोन्सको १९ वटा हस्पिटल रहेकोमा जिल्लामा हाल जम्मा १२ वटा भेन्टिलेटर र २ वटा शव वाहन रहेको बताउँदै सिरहाबासीले त्यस्तो समस्या भोग्नुपर्ने अवस्था नरहेको बताए । सिडियो कणेलले भने, अक्सिजन कै कारण सिरहामा हालसम्म कसैको मृत्यु नभएको र मैले आफै पनि दूरी कायम राखी संक्रमितहरुलाई भेटी परामर्श दिने गरेको बताए । यस्तो महामारीको बेला यसरी स्वास्थ्य सामाग्रीहरु उपलब्ध हुनु सिरहा जिल्लाको लागि सौभग्य भएको बताए । गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साहले सहयोगी संस्था हेसरा नेपाललाई धन्यवाद दिदै मानबधर्मकालागि हेसरा नेपालको सहयोग सह्रानीय रहेको बताए । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै गोलबजार नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राजदेव यादवले स्वास्थ्य सामग्रीको सहयोगले नियमित अस्पताल सञ्चालनमा ठूलो टेवा पुग्ने र यो अस्पताल नमूना अस्पतालको रुपमा स्थापित हुने विश्वास व्यक्त गरे । अन्य सहयोगी संस्थाहरुसँग पनि हातेमालो गरी अगाडि बढ्ने र आगामी दिनमा पनि सहयोगको अपेक्षा राख्दै सहयोगी संस्था हेसरा नेपाललाई धन्यवाद ज्ञापन गरे ।
गोलबजार नगरकार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव श्रीधर केसीको बिशेष सकृयतामा कोभिड १९ लाई लक्षित गरी गोलबजार नगरपालिकाले १ करोड ३५ लाखको लगानीमा २५ बेडको अस्थायी कोभिड अस्पताल जेठ १६ गतेदेखि औपचारिकरुपमा सञ्चालनमा ल्याएको छ । यही जेठ २४ गते हेसरा नेपालले इकना रिलिफ क्यानडाको आर्थिक सहयोगमा हेसरा नेपालका कार्यकारी प्रमुख जीया खानले ३ लाख बराबरको अक्सिजन सहितको स्वास्थ्य सामग्रीहरु हस्तान्तण गरेको थियो । कार्यक्रमको संचालन गोलबजार नगरपालिकाका प्रवक्ता उमेश बरालले गरेको थियो । कार्यक्रममा हेसरा नेपालका कार्यकारी प्रमुख जीया खान, सिरहा प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डे, सशस्त्र प्रहरी बल डिएसपी, श्रीशेरगण चोहर्वाका गणपति, स्वास्थ्य शाखा प्रतिनिधि, वडा अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।