गोलबजार । सिरहामा महिला कामदारमाथि बलात्कार गरेको आरोपमा एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । सिरहाको गोलबजारका व्यापारी महेश साहलाई जबरजस्ती करणी मुद्दामा प्रहरीले पक्राउ गरेको हो ।
साह धनगढीमाई नगरपालिका–९ मा सञ्चालित कौशल एग्रो ट्रेडर्स (राइस मिल) र गोलबजारस्थित राइस मिलका मालिक हुन् । उनीविरुद्ध बिहीबार कौशल एग्रोमा काम गर्ने एक महिला कामदारले इलाका प्रहरी कार्यालय लहानमा जबरजस्ती करणी सम्बन्धी किटानी जाहेरी दिएकी थिइन् ।
पीडित महिलाको जाहेरीपछि आरोपित साहलाई बिहीबार नै पक्राउ गरिएको लहानका डीएसपी तपन दाहालले बताए । जिल्ला अदालत सिरहाबाट शुक्रबार म्याद थप गरी उनीमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
जिल्लाका धनाढ्य व्यापारीमध्येका एक साहलाई उम्काउन नेता, सांसद, मन्त्रीदेखि व्यापारीसम्मले सक्रियता बढाएको स्रोतले बतायो । यतिसम्म कि, दबाब र प्रभावमा पारेर बयान फेर्नसमेत दबाब बढाएको पीडितको पारिवारिक स्रोतले बताए ।
तर, सिरहाका एसपी हीरा पाण्डेले भने कसैको पेसा र पहुँचको आधारमा प्रहरी नचल्ने भन्दै अपराधको प्रकृतिअनुसार कानुनबमोजिम कारबाही हुने दाबी गरे ।